सबैलाई जोडेर अगाडि बढ्नसके देशको विकास सम्भव : पूर्व राष्ट्रपति यादव

काठमाडौँ, जेठ ३ । मुलुकका सबै जातजाति र समुदायलाई जोडेर अगाडि बढ् सकेमात्र देशको विकास सम्भव हुने गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस एवं साधारणसभाका अवसरमा आयोजित ‘प्रजातान्त्रिक योद्धा सम्मान’ कार्यक्रममा बोल्दै उनले लामो समयपछि मुलुकमा परिवर्तन आएको जनाउँदै यसलाई बचाउनका लागि सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने बताए ।

उनले भने –सबैलाई समेटेर मुलुकको विकास होस् भन्ने मेरो चाहना हो । पूर्वराष्ट्रपति डा यादवले काँग्रेसभित्र गुटगत राजनीति हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । काँग्रेसले काँग्रेस सिध्याउन लागिरहेका छन्, टिकट पैसामा वितरण भइरहेको छ– उनले भने ।

गाउँ, नगर र जिल्लामा संगठन विस्तार गर्न नलागेसम्म काँग्रेस बलियो हुन नसक्ने उनले विचार व्यक्त गरे । राष्ट्र जोड्ने र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन काँग्रेसले मात्र सक्ने भन्दै उनले काँग्रेस सुधार्ने जिम्मा बौद्धिक वर्गलाई दिनुपर्ने बताएका छन् ।

काँग्रेसका बारेमा आफूले धेरै भन्ने कुराहरु भए पनि आफ्नो पदीय मर्यादालाई ख्याल गरेको उनको भनाइ छ । पूर्वमन्त्री एवं राजनीतिक चिन्तक निलाम्बर आचार्यले काँग्रेसको विचारमा हिँड्ने कम्युनिष्टहरुले काँग्रेसलाई निर्वाचनमा पराजित गरेको बताए । काँग्रेस कमजोर भएका कारण कम्युनिष्टहरुले अवसर पाए, भविष्य कम्युनिष्ट विचारसँग नभएको उनले बताए ।

संगठन, राजनीति र सिद्धान्तलाई पुनःनिर्माण गरेर अगाडि बढेमात्र काँग्रेस अगाडि बढ्ने उनले विचार व्यक्त गरे । काँग्रेसले संसद्मा सशक्त भएर जनताको मुद्दा उठाउँदै स्थानीय तहदेखि केन्द्रसम्म नयाँ नेतृत्व जन्माउन सकेमात्र पहिलेको स्थानमा पुग्ने उनको भनाइ छ । राजनीतिक चिन्तक प्रा डा कृष्ण खनालले काँग्रेस विरोधीहरुले विश्वेश्वरप्रसाद कोइरालाको अस्त्र काँग्रेसमाथि प्रयोग गरेकाले पार्टी कमजोर भएको बताए ।

काँग्रेसका गतिविधिहरुदेखि धेरै कार्यकर्ताले परिवर्तन चाहेका छन्, त्यसैले काँग्रेस पुनःनिर्माणको आवश्यकता छ– उनले भने । आफ्नो पछाडि नलाग्ने सबै विरोधी भन्ने मानसिकता नेताहरुसँग भएको कारण काँग्रेस कमजोर भएको उनले बताए ।

राजनीतिक चिन्तक डा देवेन्द्रराज पाण्डेले काँग्रेस कमजोर भए नेपालको प्रजातान्त्रिक आन्दोलन कमजोर हुने भन्दै पार्टी बलियो बनाउनका लागि संगठन निर्माणमा लाग्नुको विकल्प नभएको बताए । काँग्रेसले आफ्ना नीति तथा कार्यक्रम जनतामाझ लैजान नसक्दा पराजय भोगेको उनको भनाइ थियो ।

उक्त अवसरमा प्रजातान्त्रिक योद्धा सम्मानबाट पुरुषोत्तम बस्नेत सम्मानित भए । रु २५ हजार नगद, सम्मानपत्र र दोसल्लाबाट सम्मान हुनुभएका भएका प्रजातान्त्रिक योद्धा बस्नेतले मुलुकमा प्रजातन्त्रमाथि ठूलो संकट देखा परेको भन्दै प्रजातन्त्रलाई बचाउनका लागि प्रजातन्त्रवादीहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष होमनाथ दाहाल, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सना, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, उपाध्यक्ष डा विमला शाक्यलगायतले प्रजातन्त्रलाई सुदृढ बनाउनका लागि विभिन्न कार्यक्रममार्फत प्रजातान्त्रिक विचार समाज लागिरहेको जनाए ।

उनीहरुले प्रजातान्त्रिक विचार समाजमा विभिन्न पेशा व्यवसायमा आबद्ध बुद्धिजीवीहरु रहेको भन्दै पार्टीले उनीहरुको विचारलाई समावेश गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

वि.सं २०५२ जेठ ३ गते स्व वासुदेवचन्द्र मल्लको अध्यक्षतामा स्थापना भएको समाजले मुलुकमा मानव अधिकार, बहुदलीय प्रजातन्त्र, कानूनी राज्य तथा बहुलवादमा आधारित संसदीय प्रणालीको संस्थागत विकास र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको समाजका अध्यक्ष डा केदारनरसिंह केसीले बताए ।