पोखरा, असार ६ । लेखनाथ महानगरपालिका– ३३ बाघमारामा रु पाँच करोडको लागतमा मुलुककै नमुना बङ्गुर औद्योगिक पार्कको निर्माण थालिएको छ । बङ्गुर व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ पशुपंंक्षी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय बङ्गुर, कुखुरा प्रवद्र्धन कार्यालय हरिहर भवन ललितपुरको ७० प्रतिशत तथा २६ जना व्यवसायीको ३० प्रतिशत लगानीमा उक्त पार्कको निर्माण कार्य अगाडि बढाइएको हो ।
मुलुककै नमुना बङ्गुर व्यवसाय पार्कको रुपमा निर्माण हुन लागेको सो पार्कमा उन्नत जातका बङ्गुरका बच्चा उत्पादन, दाना उद्योग, बधशाला, कृत्रिम गर्भाधान समेतको व्यवस्था गरिने बताइएको छ । सो पार्कमा वार्षिक २५० टन बङ्गुरको मासु उत्पादन गरी बिक्री वितरण गरिने व्यवसायी एवम् पूर्व सांसद कृष्णबहादुर गुरुङले जानकारी दिएका छन् । उक्त नमुना बङ्गुर व्यवसाय पार्कले २५ वर्षका लागि १४० रोपनी जग्गा भाडामा लिई पार्क निर्माणको कार्य आरम्भ गरेको हो । सो पार्कको निर्माण आव २०७४/७५ को अन्त्यतिर सम्पन्न हुने बताइएको छ । पछिल्लो समय व्यावसायिक रुपमा बङ्गुर पालक कृषकको संख्यामा वृद्धि हुँदै गएको र देशभरको माग अनुसारको बङ्गुरका पाठापाठी र मासुको आपूर्ति गर्ने लक्ष्यका साथ पार्क निर्माण थालिएको गुरुङले बताए । देशभरको रेस्टुराँमा बङ्गुरको मासुका परिकारलाई समेट्न नसकिरहेको अवस्थामा यस पार्कबाट मासु प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाई छ ।
पार्कलाई दुर्गन्धित हुन नदिन वरिपरी पर्खाल निर्माण गरिने र शुद्ध खानेपानीको व्यवस्थाको लागि बोरिङसमेत खनिएको गुरुङले बताए । चीन, जापान, दक्षिण कोरिया, भुटान र युरोपका विभिन्न देशमा बङ्गुरको मासु अत्यधिक खपत हुने गरेकामा नेपालमा नकारात्मक सोचका कारण एकदमै न्यून मात्रै बिक्री वितरण हुने गर्दछ । पशुपक्षी विकास मन्त्रालयले बङ्गुरको उत्पादन वृद्धि गर्न र व्यवसायीलाई यसतर्पm आकर्षित गर्नको लागि विशेष नीति ल्याएको पशुसेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलले बताए ।