विश्वकै कान्छा निर्देशकले ल्याए ‘हैरान’

काठमाण्डौ, जेष्ठ ४ । विश्वको कान्छो निर्देशक भनेर चिनिने सौगात बिष्टले आफ्नो नाम गिनिज वर्ड रेकर्डमा दर्ता गराएका हुन् । चलचित्र ’लभ यू बाबा’ पछि उनले निर्देशन गरेको अर्को चलचित्र ‘हैरान’ यस हप्ताको फ्राईडेबाट रिलिज अन्तर्गत देशैभर प्रदर्शनमा आएको छ । हरेक वर्ष भनौं या हरेक महिना हामीकहाँ फिल्म जुध्न नौलो होइन । वर्षेनी सयभन्दा बढी फिल्म रिलिज हुने गर्दछन् । ठूला ब्यानर र स्टार कलाकारको अभिनय रहेका फिल्मले मात्र सोलो रिलिज पाउँछन् । नभए त हरेक हप्ता दुईभन्दा बढी फिल्मको भिडन्त अचेल सामान्य मानिन थालिएको छ ।

तर, यस हप्ताको फ्राईडे रिलिज अन्तर्गत देशैभर प्रदर्शनमा आएको फिल्म ‘हैरान’ ले भने सोलो रिलिजको अवसर पाएको छ । ’शत्रु गते’ पछि नेपाली फिल्मले गतिलो व्यापार गर्न नसकिरहेको बेलामा अहिले सबैको ध्यान ’हैरान’ माथी छ । अब यसले सोलो रिलिजको फाइदा कतिको उठाउला त्यो भने हेर्न बाँकी छ ।

शुक्रवारबाट देशभरका ८० बढी हलमा प्रदर्शनमा आएको चलचित्र ‘हैरान’ सँग भिड्न तयार भएको विपिन कार्की स्टारर फिल्म ’हरी’ को रिलिज पोस्टपोन्ड भएपछि यो फिल्मले एकल प्रदर्शनको अवसर पाएको हो ।
चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ । यसलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ .

चलचित्रको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।

सौगातले यसअघि ’लभ यू बाबा’ निर्देशन गरेका भएपनि उक्त चलचित्रले बक्सअफिसमा सुखद कलेक्सन गर्न सकेन । तर यस चलचित्रले दर्शकबाट भने राम्रो ’फिडब्याक’ पाएको थियो । अब ’हैरान’ ले बक्सअफिसमा वाहवाही र ताली कतिको कमाउला यसतर्फ सबैको ध्यान केन्द्रित रहेको छ ।

निर्देशक विष्ट आफू निर्देशित चलचित्र ’लभ यू बाबा’ युट्युबमा हेरेर राम्रो लागेमात्र ‘हैरान’ हेर्न हलमा जान आग्रह गर्छन् । उनको यो कन्फिडेन्टबाट पनि प्रष्ट हुन्छ, कि चलचित्रबाट उनले निकै नै आशा बोकेका छन् । चलचित्रले नाम दाम दुवै कमाओस् उनलाई शुभकामना ।