समयमा काम सम्पन्न नगर्नेलाई कारवाहीको माग

काठमाडौँ, जेठ ४ । आज बसेको राष्ट्रियसभाकोे बैठकको विशेष समयमा सांसदहरुले विकास निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी रुपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले विकास निर्माणका कामलाई निर्धारित समयमै सम्पन्न गर्ने गरी अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्थाको माग गरे । सांसद रामनारायण बिँडारीले सडक निर्माणमा ठेकेदार कम्पनीले गरेको ढिलासुस्तीका कारण जनताले सास्ती भोग्नुपरेको भन्दै समयमा काम सम्पन्न नगर्नेलाई कारवाहीको माग गरेका छन् ।

सांसद दिलकुमारी रावलले समृद्ध राष्ट्र निर्माणका लागि विकास निर्माणलाई प्रभावकारी बनाउन आगामी बजेटमार्फत विकास निर्माण कार्य तोकिएकै समयमा सक्ने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

सांसद राधेश्याम अधिकारीले दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीलाई बधाई दिदैं काठमाडौँ उपत्यका र काठमाडौँ बाहिर जाने सडक विस्तार कार्य अझै नसकिएको र विस्तार भएका सडक अहिलेसम्म निर्माण हुन नसक्दा जनताले समस्या झेल्नुपरेको हुँदा यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद विमला राईले धेरै कानूनसँग संविधान बाझिन सक्ने भएकाले यसको निक्र्यौल गरेर तत्काल नयाँ कानून निर्माण प्रक्रिया अगाडि बढाउन माग गरेकी छिन् ।