ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्ट स्थापना

नवलपरासी, जेठ ६ । पूर्वी नवलपरासीमा नेपालमा सबैभन्दा ठूलो सिमेन्ट उद्योग स्थापना भएको छ । ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन शुरु गरेको छ ।

नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन थालेको हो । उद्योगबाट पहिलो चरणमा दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएर अगाडि बढेको छ ।

पूर्ण क्षमता १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उक्त उद्योगले बताएको छ । सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । अहिलेसम्म नेपालमा सबैभन्दा बढी अर्घाखाँची सिमेन्टले तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

होङ्सी शिवम सिमेन्टका सञ्चालकमध्येका सतिश मोरले भने– केही दिनमै बजारमा सिमेन्ट आउँछ । ठूलो क्षमताको सिमेन्ट उत्पादन थालिएको अब राम्रो र बलियो बजार बन्ने विश्वास उद्योगको रहेको छ । उद्योगमा करीब एक हजार कामदार कार्यरत छन् ।

कारखाना पूर्ण रुपमा सञ्चालनमा आएपछि दैनिक एक हजार नेपाली र ४०० भन्दा बढी चिनियाँ कामदारले समेत रोजगारी पाउने कम्पनीले बताएको छ । कारखानाले सिमेन्ट उत्पादनमा प्रयोग हुने ऊर्जा नै प्रयोग गरेर थप १२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ ।

कारखाना पूर्ण क्षमतामा सञ्चालनका लागि हामीलाई ८० मेगावाट विद्युत् आवश्यक हुन्छ, तत्काल ५० मेगावाट जरुरत छ, तर प्रसारण लाइनको अभावमा आफँै विद्युत् उत्पादन गर्नुपर्ने भएको बताइन्छ ।