चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने सडक उद्घाटन

रसुवा, जेठ ६ । अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन गरिएको छ ।

नेपाली सेनाले सो सडकको ट्रयाक निर्माण सम्पन्न गरेसँगै आज रक्षामन्त्री ईश्वर पोखरेलले मैलुङमा रिवन काटेर चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय सो सडकको समुद्घादन गरेका हुन् । आजै नेपाली सेनाले स्याफ्रुमा एक औपचारिक कार्यक्रम गर्दै उक्त सडक गल्छी–त्रिशुली–मैलुङ– स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गर्ने जानकारी गराइएको छ ।

रक्षामन्त्री पोखरेलसँगै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत सडक उद्घाटन कार्यक्रमा सहभागी भएका थिए ।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि थालेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्माण कार्यदलका प्रमुख एवम् प्राविधिक सेनानी सञ्जय केसीले बताए । सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी दिइएको थियो ।

१७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक पनि ‘सिङ्गल लेन’को बनाएको छ । मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार रुपैयाँ खर्च भएको छ ।

दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटरको निर्माण लागत ३ करोड ९० लाख रुपैयाँ परेको नेपाली सेनाले जानकारी गराएको छ ।