महोत्तरीको गौशालामा एक शिक्षकको भरमा विद्यालय सञ्चालन

महोत्तरी, जष्ठ ६ । अचम्म लाग्छ बेरोजगारीको चपेटामा परेको देश नेपालमा पनि रोजगारीको कमी नभई कामदारको कमी भएको ठाउँ पनि छ भनेर, तर यो सत्य हो । महोत्तरीको गौशाला–१० स्थित राष्ट्रिय मावि बहादुरगञ्ज वर्षौंदेखि एकजना शिक्षकको भरमा सञ्चालन हुँदै आउको छ । वर्षौं पहिले स्थापना भएको सो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा सञ्चालन हुँदै आएको छ ।

मावि तहसम्म पढाइ हुने उक्त विद्यालयमा एकमात्र प्रधानाध्यापक शुभकरण यादव मावि तहका शिक्षक छन् । विद्यालयमा निमावि तहका कुनै पनि शिक्षक नरहेको र  प्रावि तहमा भएका तीन दरबन्दी, दुई राहत, दुई बालविकास र एक कार्यालय सहयोगी गरी नौजना शिक्षकको भरमा विद्यालय सञ्चालन रहँदै आएको छ । जसका कारण पठनपाठन प्रभावित हुनाका साथै विद्यालयमा कार्यसम्पादन गर्नका लागि कठिनाइ हने गरेको विद्यालय स्रोतले जानकारी दिएको छ । विद्यालयमा कम्प्युटर कक्षा अहिलेसम्म पनि सञ्चालन हुन नसकेको विद्यार्थीले बताए ।

विद्यालयमा कम्प्युटरको व्यवस्था भए तापनि शिक्षकको अभावका कारण पठनपाठन हुन नसकेको प्रधानाध्यापक शुभकरण यादवले स्वीकार बताएका छन् । उनले आफूले यस सम्बन्धमा स्थानीय सरोकारवाला निकाय, जिल्ला शिक्षा कार्यालय महोत्तरी र शिक्षासँग सम्बन्धित हरेक निकायमा ध्यानाकर्षण गराउँदासमेत कहीँकतैबाट कुनै किसिमको सुनुवाइ वा पहलकदमी हुन नसकेको गुनासो समेत गरेका छन् ।

यस सम्बन्धमा नगर शिक्षा समितिका सदस्यसमेत रहेका गौशाला नगरपालिका–१० का वडाध्यक्ष शेख जलिलले अबको केही दिनमै नगरपालिकाले गर्ने शिक्षक दरबन्दी मिलानमा सो विद्यालयले पहिलो प्राथमिकता पाउने जानकारी गराए । विद्यालयमा एक शिक्षक कार्यालयमा लामो समयदेखि उपस्थित नभएपछि यहाँका शैक्षिक गतिविधि प्रभावित हुँदै आएको नगरपालिकाको कार्यालयले बताएको छ ।

यसमा पनि सरोकारवालाको ध्यानाकर्षण होस् र पढ्नेले बढ्न पाउनु उसको अधिकार हो भने पढाउनेको मात्र नभएर सरोकारवाला तथा अहिले केही गर्छु भनेर तम्सेका स्थानीय तहमा निर्वाचित भएका नेताहरुको पनि उत्तिकै कर्तव्य हो । यसमा उनीहरको पनि आँखा परोस् ।