विद्यार्थी भर्ना अभियानबाट ३९ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौँ, जेठ ६ । सरकारले विद्यालय जानबाट बञ्चित भएका विद्यालय जाने उमेर समुहका विद्यार्थीलाई भर्ना गराउका लागि नयाँ अभियान संचालनमा ल्याएको थियो ।

सो अभियानबाट विद्यालय जानबाट बञ्चित रहेका बालबालिकामध्ये सरकारले यो बर्ष ३९ प्रतिशत विद्यार्थीलाई विद्यालयमा भर्ना गरेको छ ।

वैशाख महिनाभरी सञ्चालित विद्यार्थी भर्ना अभियानमा ८८ हजार ८८७ विद्यार्थीमध्ये ३४ हजार ३४४ जना मात्र भर्ना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले बताए । भर्ना गरिएका विद्यार्थी प्राथमिक तहका रहेका उनले जनाएका छन् ।

विद्यार्थी विद्यालय भर्ना अभियान अन्तर्गत कक्षा १ देखि दशसम्म करीब सात लाख २४ हजार वद्यार्थी भर्ना गरिएको उनले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा एक विद्यार्थी भर्ना गरी विद्यार्थी भर्ना अभियानको थालनी गरेका थिए ।

प्रवक्ता अर्यालले बाँकी भर्ना हुन नसकेका विद्यार्थीलाई शैक्षिकसत्रभरी भर्ना गर्न पहल गरिने बताए । अभियानमा यस वर्ष ७७७ विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ । ती विद्यार्थीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, नगरप्रमुख तथा उपप्रमुख, चलचित्र नायक आदिले विद्यालयमा भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन् ।

यस वर्ष गरीब, अपाङ्गता भएका र पिछडिएका क्षेत्रका विद्यालय उमेर जाने विद्यार्थीलाई पाठ्यपुस्तकसहित विद्यालय भर्ना गरिएको थियो । सरकारले वर्षेनी भर्ना अभियान सञ्चालन गरे पनि तोके अनुसारको विद्यार्थी भर्ना गराउन सकेको छैन ।