– कस्तो चल्दै छ चुनावी अभियान ?
तीब्ररुपमा चलिरहेको छ । हिजोआज मतदाताकै घर–आँगनमा व्यस्त छु । बिहानदेखि रातीसम्मै मतदाताहरुलाई भेट्ने उहाँहरुको चाहना बुझ्ने र आफ्ना एजेण्डाहरु सुनाउने काम चलिरहेको छ । कतिपय मतदातालाई मतदान कसरी गर्ने भन्ने पनि थाहा छैन । आफ्नो प्रचारसँगै मतदाता शिक्षा पनि आफूले दिदैं चुनावी प्रचार प्रसारमा लागिरहेकी छु ।
– के भन्छन मतदाता ?
जनता भोट हाल्न आतुर छन् । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्ना जनप्रतिनिधि छान्नका लागि उनीहरु हतार गरिरहेका छन । सिंहदरवारको अधिकार आफ्नो गाउँटोलबाट सहजै पाइने भएपछि मतदाताहरुमा चुनावी इच्छा व्यग्र देखिन्छ । प्रायः सबै मतदाताहरुको चाहना त्यति छ, विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताहरुको पूर्ति सहज रुपमा होस् भन्ने छ ।
–भोट हाल्न मात्र मतदाता आतुर छन त ?
भोट हाल्न मात्र हैन अब विकास निर्माणको मूल फुट्ने अपेक्षामा पनि जनता रहेका छन् । किनभने संवैधानिक व्यवस्थानुसार स्थानीय तहलाई अधिकारमुखी गराइएको छ । यसले स्थानीय विकासलाई प्रभावकारी गराउने भएकाले मतदाताहरु छिटो जनप्रतिनिधि चुनेर आफ्नो टोल, छरछिमेकको विकास हेर्न चाहिरहेकाछन् ।
–के छन् तपाईका चुनावी एजेण्डा ?
मसँग त्यस्तो पृथक केही पनि छैन । हामीले अधिकांश जनताको चाहना, मागका आधारमा काम गर्ने हो । त्यसैले मैले यो नै गर्छु भन्नेभन्दा पनि स्थानीय समस्याको पहिचान गर्दै त्यसको सम्बोधनको खोजी गर्नु ठूलो कुरा हो जस्तो लाग्छ । तर यति भन्दैमा एजेण्डानै नभएको पक्कै होइन । नेपाली काँग्रेसले आफ्नो छुट्टै घोषणापत्र जारी गरिसकेको छ । तर हामीले खजुरा गाउँपालिकाको वस्तुस्थिति केलाएर यहाँको सम्भावना, समस्या सबै कुरालाई समेटेर एजेण्डा तयार पारेका छौं । जिल्लाको प्रमुख सहरका रुपमा परिचित खजुरा भएपनि यस क्षेत्रमा सञ्चार गृहहरु छैनन् । म आफै पनि पत्रकारिताबाट आएकाले सबैभन्दा पहिले जनताले सुसुचित हुन पाउने अधिकारका लागि पहल हुनेछ । सूचना र सञ्चारबिना नागरिकले सरकारबाट पाउने सेवा सुविधाहरु नपाइरहेको स्थिति छ । जवसम्म हामीले प्रविधिको विकास गर्न सक्दैनौ तवसम्म कुनै पनि क्षेत्रको विकास सम्भव छैन । त्यसै खजुरा गाउँपालिकालाई फ्रि वाइफाइ जोनका रुपमा विकास गरिने छ । ग्रामीण क्षेत्रमा अझै गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा नपाइरहेको अवस्था छ । यस्ता यावत् समस्या र वस्तुस्थितिलाई हामीले आफ्ना एजेण्डा समेटेका छौं ।
– समृद्ध खजुरा बनाउन तपाइँका योजना के छन् ?
खजुरा गाउँपालिका बहुजाति, बहुभाषी भएको क्षेत्र हो । यहाँ हिन्दु, मुस्लिम, मधेशी, जनजातिलगायतको बसोबास छ । यस क्षेत्रलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न सकिन्छ । यहाँका ऐतिहासिक कला–संस्कृतिको संरक्षण, सम्र्वद्धन तथा प्रबर्धन गर्न सकियो भने आन्तरिक पर्यटनको सम्भावित स्थल बन्न सक्ने सम्भावना देखिन्छ । खजुरा गाउँपालिका भोलि पक्कै नगरपालिका बन्छ । नगरपालिकाकै आधार बनाएर हामीले योजनाहरु बनाएका छौं ।
– त्यसलाई सार्थक पार्ने खाका के छन् ?
वस्तुनिष्ठ ढंगले तयार पारिएको योजनामा जनतासँग प्रत्यक्ष सहभागितालाई जोड दिँदै समृद्ध खजुरा बनाउने हाम्रो लक्ष्य रहेको छ । हामीले योजनालाई सही ढंगले पहिचान गरी जनताको बृहत सहभागिताबाट नै हाम्रा योजना र खाकालाई साकार पार्ने लक्ष्य लिएका छौं । किनभने जव हाम्रा एजेण्डामा जनता सहमत हुनुभयो र जिताउनुभयो भने उहाँहरुकै सहकार्यमा अघि बढ्ने हो ।
– खजुरा गाउँपालिकाको मुख्य समस्या के हो ?
सदरमुकाम नेपालगन्जसँगै जोडिएको गाउँपालिका भएपनि यहाँ गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्याहरु छन् । मधेशी समुदाय शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्याबाट मुक्त हुन सकेका छैनन् । सञ्चारको खासै विकास हुन सकेको छैन । १२ किलोमिटरमा रहेको सदरमुकाममा दर्जनौ रेडियो, पत्रपत्रिका छन् तर यहाँ एउटा पनि छैनन् । यसले के पुष्टि गर्छ भने नगरउन्मुख गाउँपालिका सञ्चारको पहुँचमा छैन । अर्को कुरा कृषिको ठूलो सम्भावना छ तर सिंचाइँको अभाव छ । यिनै समस्याभित्र सम्भावना खोज्ने हो ।
– पत्रकारिता छोडेर किन राजनीतिमा ?
तपाईले सही कुरा गर्नुभयो । पत्रकारितामा जत्तिकै सम्मान राजनीतिमा छैन । राजनीति धेरैले फोहोरी खेल भनेर आलोचना गर्छन । फोहोरी खेल भनेर हामी चुप लागेर बस्यौं भने यो जहिल्यै पनि फोहोरी फोहोरी भइरहन्छ । तपाई हामी जस्तो पढेलेखेको र बुझेको मान्छे राजनीतिमा आउन जरुरी छ । र, फोहोरी गराइएको राजनीतिलाई शुद्ध पार्न आवश्यक छ । फेरि तपाईले सोध्नुहोला कसरी ? यो एक्लै सम्भव छदैँ छैन । त्यसका लागि राजनीति बुझेका मैले फेरि पनि भन्दैछु तपाई हामी जस्ता युवाहरु अगाडि आउन जरुरी छ । इमान्दारिता, पारदर्शिता, जवाफदेहिता यी कुराहरुलाई पलपल सम्झेर अघि बढ्न सकियो भने राजनीतिलाई सही ट्रयाकमा ल्याउन सकिन्छ । त्यसका लागि पत्रकारिताबाट मात्रै पुग्दैनथ्यो । सबैको नीति राजनीति हो । त्यसैले नीतिगत बहस चलाउनै जरुरी छ ।
– खजुरा गाउँपालिकाबासीले तपाईलाई किन जिताउने ?
म पढेलेखेको सक्षम युवा हुँ । काँग्रेसका विभिन्न भातृ तथा शुभेच्छुक संघ–संगठनको नेतृत्व सहज ढंगबाट बहन गरिसकेको सफल युवा हुँ । ग्रामीण क्षेत्रमा जन्मिएर समाजसेवाको लागि संघर्ष गर्दै गरेकी एक युवा पनि हुँ । पत्रकारितामा हुँदा पनि आफनो पेशामा ज्यानको बाजी लगााएर काम गरेको तपाईलाई थाहा छ । म जुन जिम्मेवारी लिदैँछु इमान्दार भएर अहोरात्र खटिएर पूरा गर्नेछु । म हरेकको घरदैलोमा पुगेर उनीहरुको सुख दुखको सारथी बनेर काम गर्नेछु । विपन्न समुदायका महिलाहरुको आर्थिक आयआर्जनका लागि मेरो हदैसम्मको पहल हुने छ । यहाँको पूर्वाधार विकास, सडक, पुलपुलेसा, विद्यालय, कृषि क्याम्पस निर्माणका लागि मेरो अहम् भूमिका हुनेछ ।
– अन्तमा केही भन्नु छ ?
अन्तमा मेरो आग्रह छ । खजुरा गाउँपालिकामा करिव ३० हजार मतदाता छन् । आज होइन भोलि हेर्नुस् कसैको बहकाउमा लागेर आफ्नो मत खेर नफाल्नुहोस् । यो स्थानीय तहको चुनाव हो । सिंहदरवारको अधिकार गाउँघरबाटै पाइने भएकाले यहाँ आउने जनप्रतिनिधि पनि त्यत्तिकै क्षमतावान् हुनुपर्छ ।
साभार हरेकपल अनलाइन