फोहरमैला व्यवस्थापन गर्न शुरु

रुपन्देही, जेठ ८ । निजी क्षेत्रसँग सम्झौता गरेर रुपन्देहीको सैनामैना नगरपालिकामा विभिन्न प्रकारका फोहरमैलाको व्यवस्थापन गर्न थालिएको छ ।

वातावरणीय सुन्दर नेपाल प्रालि, बुटवलसँग भएको सम्झौता अनुसार सड्ने फोहरमैला सातामा दुई पटक र नसड्ने १० दिनमा एक पटक उठाइने नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले बताए ।

फोहरमैला व्यवस्थापनका लागि नगरपालिका क्षेत्रका मुख्य बजार मुर्गिया, सालझण्डी र कलौनीमा पहिलो चरणमा नै सरसफाइ गरिने र त्यसलाई अन्य विभिन्न ठाउँमा निरन्तरता दिइने जनाइएको छ ।

नगरपालिका प्रमुख केसीले फोहरमैला व्यवस्थापनका लागि रु ३० देखि रु एक हजार ५०० सम्म शुल्क लिएर २० लिटरको फोहर राख्ने भाँडो प्रयोगमा ल्याउने जनाउँदै फोहर व्यवस्थापन गर्न निजी क्षेत्रलाई रु दुई लाख ७५ हजार दिने सहमति भएको जानकारी दिएका छन् ।

नगरका विभिन्न टोल विकास संस्थालाई तत्काल दुई हजार ५०० फोहर राख्ने भाँडो अनुदानमा वितरण हुने र थप दुई हजार ५०० पुनः वितरण हुने बताइएको छ । नगरको सौन्दर्य सभ्यताको सूचक हो, त्यसैले यसलाई सबैले आत्मसात् गर्नुपर्ने उनको भनाइ छ ।

प्लाष्टिकजन्य फोहर जलाउनसमेत उपभोक्तालाई रोक लगाइएको जनाउँदै उनले कसैले अटेर गरेमा जरिवाना गरिने बताएका छन् । नगरपालिकामा एक सातामा १५ क्विन्टल फोहरमैला जम्मा हुने गरेको नगरप्रमुख केसीले जनाए ।