सगरमाथा आरोहण गरेर फर्किने क्रममा आरोहीको मृत्यु

काठमाडौँ, जेठ ८ । आरोही डोमा सार्की शेर्पाको सगरमाथा आरोहण गरेर फर्कने क्रममा मृत्यु भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको गए राति मृत्यु भएको सोलुखुम्बु प्रहरीले जानकारी गराएको छ ।

आधार शिविर– २ को खुुम्बु आइसफलमा लडेर घाइते भएका शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारी बताएका छन् ।

शेर्पा हिमालयन एशोसिएसन कम्पनीबाट सगरमाथा आरोहणका लागि गएका थिए ।

यसअघि सगरमाथा आरोहण गर्ने क्रममा दुई विदेशीको मृत्यु भएको थियो भने शिविर ३ पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरीकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर ३ माथि लेक लागेर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

सगरमाथा आरोहणको नवौँ दिन सोमबारसम्म ३१६ भन्दा बढी आरोही चुचुरामा पुगेका थिए ।