काठमाडौँ, जेठ ८ । सामाजिक संजालको प्रयोग दिनानुदिन बढेसँगै नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् ।
कम्पनीद्वारा हालै प्रकाशित पछिल्लो तथ्यांक अनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७०० प्रयोगकर्ता रहेको टेलिकमले मंगलबार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
वि.सं २०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८९४ रहेकामा २०७४ चैत अन्त्यसम्ममा सो संख्यामा वृद्धि भई एक करोड एक लाख ५४ हजार पुगेको छ । वि.सं २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालू आर्थिक वर्षको नौ महिनामा कम्पनीको डाटा सेवाका ग्राहक आधार २०.५१ प्रतिशतले बढेको कम्पनीले बताएको छ ।
रिपोर्ट अनुसार २०७४ चैत मसान्तसम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता पाँच लाख ५९ हजार १७२ पुगेका छन् ।
गत २०७४ चैत महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार एक करोड ९३ लाख २२ हजार ८५५ रहेको छ ।
जिएसएम मोबाइल सेवाका ग्राहक एक करोड ६९ लाख ४४ हजार ५३९, सिडिएमए सेवाका ग्राहक १६ लाख ८८ हजार ३५१ तथा पिएसटिएन टेलिफोन सेवाका ग्राहक छ लाख ८९ हजार ३७३ छन् ।