न्यायिक समितिमा उजुरीका चाङ्ग बढ्दै

भीमदत्तनगर, जेठ ११ । स्थानीय तहमा उपप्रमुख एवं उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिमा उजुरीको चाप बढ्दै गएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै एक वर्ष पुग्न लाग्दा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिका गरी नौवटै स्थानीय तहमा घरेलु हिंसा, सामान्य झगडा, जग्गा विवादलगायतका उजुरी आउने क्रममा वृद्धि भएको यहाँका स्थानीय तहले बताएका छन् ।

नेपालको संविधान धारा २१७ बमोजिम गरिएको सो व्यवस्थासँगै गठन भएका न्यायिक समितिका सेवाग्राहीका उजुरीका चाङ लाग्न थालेका छन् ।

विगतका सामान्य झैझगडाका लागि प्रहरी र अदालतसम्म पुग्ने स्थानीयवासी अहिले नगरपालिकामा न्यायका लागि आउन थालेको भीमदत्त नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सुशीला चन्द सिंहले जनाइन् ।

नगरपालिकाको न्याय समितिमा विभिन्नखालका मुद्दाको छिनोफानो हुन थालेको उपप्रमुख सिंहले बताएकी छिन् । अदालतसम्म पुगेका सम्बन्धविच्छेदजस्ता घटनामा पनि हामीले सहजीकरण गरेका छौँ उनले भनिन्– दैनिक छ–सातवटा उजुरी आएकै हुन्छन् ।

उनले न्यायिक समितिमा घरेलु हिंसा, जग्गाको साँध विवाद, घरबहाल विवाद, झैझगडाजस्ता उजुरी आउने गरेको जानकारी दिँदै प्रायः उजुरीमा मेलमिलाप गराएर पठाएको उनको भनाइ छ ।

सबैखाले मुद्दा आउँछन् उपप्रमुख सिंहले भनिन् मुद्दा आउने क्रम बढ्दै गएको छ । त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंहले विगतमा इलाका प्रहरी कार्यालय झलारीमा न्यायका लागि आउने प्रायः मुद्दा अहिले नगरपालिकाको न्यायिक समितिमा आइरहेको बताए ।

यहाँ अझै १६ वटा मुद्दा विचाराधीन अवस्थामै छन् प्रवक्ता सिंहले भने अहिलेसम्म १८ वटा मुद्दा मेलमिलाप गरेर पठाएको तथ्याङ्क छ । उनले पनि गाउँघरका झैझगडा, जग्गाको सीमा विवाद, नदीजन्य पदार्थको उत्खनन भएको भन्दै उजुरी दिन नगरपालिका आउने गरेको जानकारी गराएका छन् । अहिलेसम्म यहाँबाट नमिलेर अदालत कुनै मुद्दा नपुगेका उनको भनाइ छ ।

न्यायिक समितिले टुङ्ग्याउन नसकेका मुद्दा अदालत जाने व्यवस्था छ उनले भने । त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता रानाले न्यायिक समितिमा दिनहुँजसो मुद्दा आउने गरेको जनाएका छन् ।

यहाँ आएका ७० वटा मुद्दामध्ये ५२ वटा मिलाएर पठायौँ उपप्रमुख रानाले भनिन् कृष्णपुर नगरपालिकामा अन्य नगरपालिकाको भन्दा बढी चाप छ । उनले बहुविवाह, विवाह दर्ता नगरेको, जग्गा विवादलगायत विभिन्न प्रकारका मुद्दा आउने गरेको जानकारी गराएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी प्रहरीमा उजुरी आउने संख्यामा धेरै कमी भने नआएको बताउँछन् ।

न्यायिक समितिमा पनि मुद्दा गइरहेको भए पनि प्रहरीमा पनि संख्या घटेको छैन । उहाँले उनले भने कानूनी प्रक्रिया अझै बन्न बाँकी भएकाले पनि पीडितहरू यहाँ आइरहेकै छन् ।

प्रवक्ता सेटीले स्थानीय तहमा जनप्रतिनिधिले काम कारवाही गर्दा प्रहरीसित समन्वय गरिरहेको जानकारी दिए ।