काठमाडौं, जेठ १४ । दुई नम्बर प्रदेश सरकारलाई लिएको समर्थन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले फिर्ता लिएपछि दुई नम्बर प्रदेश र केन्द्रको राजनीतिमा प्रभाव पर्ने संकेत देखिन्छ । दुई नम्बर प्रदेशमा फोरम र राजपाको गठबन्धन सरकार छ ।
केन्द्रको सरकारमा सहभागी हुन संघीय समाजवादी फोरम नेपाल तयार भएपछि दुई नम्बर प्रदेशमा पनि सत्ता गठबन्धन परिवर्तन हुने देखिन्छ । संघीय समाजवादी फोरम केही दिनमै केन्द्र सरकारमा सहभागी हुन तयार भएको जनाइएको छ ।
केन्द्र सरकारमा फोरम सहभागी भएपछि दुई नम्बर प्रदेशमा नेकपा सहभागी हुने सहमति भएको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेपछि दुई नम्बर प्रदेशको सबैभन्दा ठूलो दल पनि नेकपा नै बनेको छ ।
दुई नम्बर प्रदेशका सभामुखले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षको मान्यता दिएपछि असन्तुष्ट बनेको नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । केन्द्र सरकारमा फोरम सहभागी हुन सकारात्मक भएकै दिन दुई नम्बर प्रदेशमा नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
‘अहिले नै दुई नम्बर प्रदेशको सत्ता गठबन्धन परिवर्तन हुने संभावना देखिदैन, राजपा सहमहामन्त्री एवंं दुई नम्बर प्रदेशका सांसद सुरेश मण्डलले भने, ‘नेकपालाई प्रमुख प्रतिपक्षको मान्यता नदिएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हुनसक्छ ।
अहिले नै सत्ता गठबन्धन फेरिने संभावना छैन ।’ केन्द्र सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई फोरमले समर्थन गरेकै दिन दुई नम्बर प्रदेशमा भने नेकपाले फोरम नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिएको थियो । देख्दा विरोधाभाष जस्तै लागे पनि यसको मूख्य उद्देश्य केन्द्र सरकारमा फोरम सहभागी हुने र दुई नम्बर प्रदेश सरकारमा नेकपा सहभागी हुने तयारी भइरहेको बताइएको छ ।
यसअघि नै फोरमले सरकारमा सहभागी हुने निर्णय गरिसकेको थियो । फोरमले उठाउँदै आएको संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री केपी ओली र नेकपामा अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक भएपछि फोरम सरकारमा जान सहमत भएको हो ।
प्रधानमन्त्री ओलीले राजपालाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेका छन् । राजपा र फोरम दुवैले केन्द्रमा सरकारलाई समर्थन गरेका छन् । फोरमले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि दर्ता गराएको संशोधन प्रस्ताव आइतबार फिर्ता लिएर समर्थन गरेको थियो ।
फोरमलाई सरकारमा सहभागी गराउन सहरी विकास मन्त्रालय खाली राखिएको छ भने स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री मात्र राखिएको छ । फोरम केन्द्र सरकारमा सहभागी भएको अवस्थामा राजपासँगको सम्बन्धमा चिसोपना आउने नेताहरुको भनाइ छ ।
यदि राजपा र फोरमबीचको सम्बन्ध बिग्रियो र राजपाले दुई नम्बर सरकारलाई लिएको समर्थन फिर्ता लियो भने दुई नम्बर प्रदेशमा नेकपा सहभागी हुने जनाइएको छ ।