काठमाडौं, जेठ १४ । काठमाडौं उपत्यकामा चल्ने सवारी साधनले सवारीको क्षताभन्दा बढी यात्रु कोचिने गरेको पाइन्छ ।
यसरी सवारीमा क्षताभन्दा बढी यात्रु कोचाकोच गरेर चलाउँदा यात्रुहरु यात्रा गर्दा निकै कष्ट वेहोरिरहेका हुन्छन् । यही परिस्थितिको मध्यनजर गर्दै विभिन्न रुट भएर चल्ने सार्वजनिक सवारी साधनको चेकजाँच तथा अनुगमनलाई तिव्रता दिइएको छ ।
आइतबार सिट क्षमताभन्दा बढी यात्रु राखेर चलाएका ५० जना माइक्रो बस तथा ३२ जना टेम्पो चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक महाशाखाले बताएको छ ।
पछिल्लो समय धेरै यात्रु कोचाकोच पारेर सवारी चलाउँदा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले सिटक्षमताभन्दा बढी यात्रु चढाउन रोक लगाएको छ । यसले यात्रुहरुलाई पनि यात्राको लागि सहज हुने वातावरण बन्ने महाशाखाको विश्वास छ ।
पहिलो पटक चेतावानी सहित तोकिएको जरिवाना तिराएर छोडिने तर अटेर गरेमा मुद्दासमेत दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइने भन्दै महाशाखाले सचेत गराएको छ ।
यस कार्यमा सहयोग गर्न सम्पूर्ण सावरी धनी, चालक तथा यात्रुलाई महाशाखाले आग्रह गरेको छ ।