काठमाडौँ, जेठ १५ । गणतन्त्र नेपाली जनताको विजयको प्रतीक भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
आज गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले हामीले मनाइरहेको विजय उत्सव सम्पूर्ण नेपालीको उत्सव भएको उल्लेख गर्दै भने– यो गणतन्त्र दिवस जनताको दिवस हो, आमनेपालीको दिवस हो, जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन हो । हाम्रो गणतन्त्र नेपाल र नेपालीका लागि ‘सर्वजन हितायः सर्वजन सुखायः’ व्यवस्था हो ।
उनले गणतन्त्र दिवस एउटा प्रगतिशील परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताका आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन भएको उल्लेख गर्दै यस उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिए ।
पूर्ण लोकतन्त्र, समृद्ध नेपाल र सुखी नेपाली’का लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् शहीदहरुप्रति आदरका साथ श्रद्धाञ्जलि प्रकट गर्छु– प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले दुनियाँमा लोकतन्त्रका मूल्य मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासनसत्ता सञ्चालन गर्ने अद्वितीय विधिको स्मरणसमेत गरे ।
सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य सुरक्षा, आफुहरुको विकासको प्रस्थान विन्दु भएको उनको भनाइ छ । विकास, समृद्धि, सुशासन एवं स्थिरता गन्तव्य तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्धको कार्य मुख्य अभियान भएको बताउँदै उनले गरीबी र लोकतान्त्रिक गणतन्त्रसँगै राख्न मिल्ने विषय नभएको उनले बताए ।
सुशासन र विकास आजको हाम्रो प्राथमिकता हो, यसका लागि आज असान्दर्भिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने छन्– उनले भने । यसैमा आधारित भएर हाम्रा समग्र व्यवहारहरु रुपान्तरण गरिएको उनले बताए ।
सुशासन र विकासको प्रतिबद्धतासहित संसद्बाट सर्वसम्मतिले सरकारको नीति तथा कार्यक्रम पारित भएको भन्दै उनले यसबाट राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति सरकारलाई भएको जनाएका छन् ।
छिमेकी र अन्य मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको तथा राष्ट्रिय आकांक्षा र आवश्यकता पूरा गर्न, स्रोत साधन, सामथ्र्यको प्रयोग गर्न र सहकार्य अघि बढाउन थप अनुकूलता मिलेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
यस बेला मूल राष्ट्रिय भावधारामा आपूmलाई समाहित नगरी पुराना, अनुचित र असान्दर्भिक सोचहरुका साथ अशान्ति र अस्थिरताको पक्षपोषण वा त्यस्ता क्रियाकलाप कदापि उचित हुन नसक्ने उनले प्रस्ट पारेका छन् ।
रोजगारीको अवसर सिर्जना, उत्पादन वृद्धिमा जोड, उपभोगका वस्तुमा आत्मनिर्भरतामा जोड दिइने जनाउँदै उनले जनताको कष्ट हटाउनेतिर परिलक्षित विकासका आयोजना छनोट गरिने र अतिविपन्न, वृद्ध, बालबालिका, अपाङ्गता भएका, अशक्त र गर्भवती प्राथमिकतामा पर्ने बताए ।