काठमाडौँ, असार ८ । विभिन्न कर्मचारी संघ/सङ्गठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आफ्ना माग राखेका छन् । उक्त संघ/सङ्गठनले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा राष्ट्रिय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा ट्रेड युनियनसम्बन्धी व्यवस्था अहिलेको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिनुपर्ने लगायतका माग राखेका हुन् । नेपाल निजामती कर्मचारी सङ्गठन, काठमाडौँ, नेपाल निजामती कर्मचारी युनियन (संघ), काठमाडौँ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, काठमाडौँ लगायतका संघ/सङ्गठनले ज्ञापनपत्र बुझाउँदै स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हालको पदको जेष्ठतालाई पहिलो प्राथमिकता दिनुपर्ने समेत माग राखेका छन् । उक्त भेटमा प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयनमा सरकार वा मन्त्रीभन्दा सरकारी कर्मचारीको अहम् भूमिका हुने भएकाले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले कर्मचारीहरुले आफु समक्ष राखेका जायज मागलाई सम्बोधन गर्ने बताए ।
कर्मचारी संघले गरे प्रधानमन्त्रीसँग आफ्ना माग प्रस्तुत
0
Shares