बुटवल, जेठ १५ । संघीय लोकतान्त्रिक गणतन्त्रका माध्यमबाट दिगो शान्ति, सुशासित र समृद्ध राष्ट्र निर्माणमा सबै नेपाली एक जुट भई अघि बढ्नुपर्ने प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् ।
एघारौँ गणतन्त्र दिवसका अवसरमा प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा प्रदेश नं ५ को अस्थायी केन्द्र बुटवलमा आयोजित मूल समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले आगामी आर्थिक वर्षदेखि प्रदेश र स्थानीय तहका सरकार राम्रोसँग सञ्चालन हुने बलियो आधार तयार हुने बताउँदै बताए ।
हामी हाम्रा प्रयासलाई त्यस दिशातर्फ अघि बढाउन कृत संकल्पित छाँै– उनले भने । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अंग्रेजलाई हराएको ऐतिहासिक जीतगढी किल्ला बुटवलसहित प्रदेश र देशलाई समृद्ध बनाउन सबै एक भएर अगाडि बढ्नुपर्ने बताए ।
यसअघि गणतन्त्र दिवसका अवसरमा आज बिहान बुटवलको बसपार्कदेखि बुटवलमण्डपस्थित गणतन्त्र पार्कसम्म भएको प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, उद्योगी व्यवसायीलगायतले सहभागिता जनाएका थिए ।
आजै विभिन्न संस्थाले रक्तदान, अस्पतालका बिरामीलाई फलफूल वितरण तथा मैत्रीपूर्ण खेलसमेत आयोजना गरेका छन् । प्रदेश नं ५ को सरकारले आज १२ जिल्लामा सार्वजनिक बिदासमेत दिएको छ ।