भीमदत्तनगर, जेठ १५ । गणतन्त्र दिवसका अवसर पारेर आज बिहान कञ्चनपुर कारागार भीमदत्तनगरबाट १० कैदीबन्दीलाई माफी गर्दै कैद मिनाहा गरिएको छ ।
असल चालचलन हुनाका साथै कैद सजाय छोट्याउन उपयुक्त देखिएका यहाँका विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका पुरुष कैदीबन्दीको कैद मिनाहा भएको कञ्चनपुर कारागार प्रशासनले जानकारी गराएको छ ।
कर्तव्य ज्यान, सवारी ज्यान, कुटपिट, अंगभंगलगायत मुद्दाका कैदीको सजाय मिनाहा भएको हो ।
कैद मिनाहा हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका मोहन ऐर, बैतडीका लक्ष्मणदत्त पन्त, कृष्णपुर नगरपालिकाका सीताराम डगौँरा, बेलौरीका देवप्रसाद चौधरी, कृष्णपुरका प्रेमसिंह राना, शुक्लाफाँटाका छोटे राना, भीमदत्तनगरपालिकाका गणेश लुहार र नरेश राना, डोटीका भक्तबहादुर बयाडी र बेदकोट नगरपालिकाका पुष्करराज पाण्डेय रहेका छन् ।
0
Shares