काठमाडौं, जेठ १५ । तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सरकारले आम माफी दिएपछि नेपाल विद्यार्थी संघले बिरोध जनाउदै आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरोधमा नेविसंघले मंगलबार दिउँसो राजधानीमा प्रदर्शन गरेको हो।
शंकरदेव क्याम्पस अगाडिबाट नेता कार्यकर्ताले अर्धनग्न भएर विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनले पुतलीसडक, बागबजार परिक्रमा गरेको छ।
उनीहरुले ‘हत्यारा छोड्न पाइँदैन, ओली सरकार चाँहिदैन, कम्युनिष्ट सर्वसत्ताबाद देखियो, न्यायको घाँटी रेटियो’ लगायत नारा लगाएका थिए।
अध्यक्ष नैनसिंह महरले ढुंगेलको रिहाइले कानूनी राज्यको उपहास भएको बताएका छन् । ‘मान्छे मार्नेलाई सरकारले छोड्दै जाने हो भने कानुनको औचित्य केहि पनि नरहने र ‘देशलाई अस्तव्यस्त बनाउने खालका क्रियाकलाप आफुहरुलाइ कदापी स्वीकार्य नहुने उनको भनाइ छ ।
नेविसंघले हत्या जस्तो जघन्य अपराधमा सम्लग्न ढुङ्गेललाई आम माफी दिएर सरकार नाङ्गिएको आरोप लगाएको छ ।
सरकारले लत्काल निर्णय नसच्याए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने नेविसंघका केन्द्रिय सदस्य तारक केसीले बताएका छन् ।
द्वन्द्व कालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय सुनाएको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि डिल्लीबजार करागारमा रहेका ढुंगेल गणतन्त्र दिवसका दिन मंगलबार रिहा भएका हुन् ।