काठमाडौँ, जेठ १६ । बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले व्याख्या गरेको छ । सरकारले मंगलबार प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल गर्दै कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्ने निष्कर्ष काँग्रेस संसदीय दलको आजको बैठकले निकालेको हो ।
यसले अन्तर्रा्ष्ट्रिय र राष्ट्रिय लगानीकर्तालाई अभिप्रेरित गर्न नसक्ने बैठकको निर्णयबारे जानकारी गराउँदै मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी गराएका छन् । उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्दा नव रोजगारी खुल्ने नदेखिएको उनले बताए ।
कृषि र उत्पादनशील क्षेत्रमा पाँच वर्षमा शतप्रतिशत वृद्धि गर्ने सरकारको प्रतिबद्धताअनुसार सो क्षेत्रमा लगानी अपर्याप्त भएको उल्लेख गर्दै मुख्य सचेतक खाँणले बजेटले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्न नसकेको उल्लेख गरेका छन् ।
पर्यटनका सम्बन्धमा पनि सरकारले आवश्यकताअनुसारका कार्यक्रम ल्याउन नसकेको भन्दै पार्टीले आमनेपाली जनताको अपेक्षाअनुसार आर्थिक समृद्धि हुने आशा विपरीत बजेट आएको भनेका छन् । निजी जग्गाको सम्बन्धमा बजेटमा गरिएका व्यवस्थाले नियन्त्रित अर्थतन्त्रतर्फ सरकार अभिप्रेरित भएको काँग्रेसको आशंका रहेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेका छन् ।