काठमाडौँ, जेठ १८ । मुलुकको विकास र समृद्धिका लागि व्यावसायिक तथा प्राविधिक शिक्षा क्षेत्रको विकासमा जोड दिइएको छ ।
युवा विद्यार्थी आन्दोलन समितिद्वारा बिहीबार आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागी वक्ताले अबको शिक्षालाई उत्पादनसँग जोडनुपर्ने आवश्यकता औंल्याएका छन् ।
शिक्षाविद् विद्यानाथ कोइरालाले संविधानको मौलिक हकमा शिक्षा नागरिकको अधिकार भनिएका कारण यसलाई सर्वसुलभ र सबैको पहुँचमा पुर्याउनुपर्ने बताए । शिक्षा मन्त्रालयका सहसचिव डा हरि अधिकारीले शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि त्यसको प्रतिफल प्राप्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
पुनःगठित अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझी, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल, नयाँ शक्ति विद्यार्थी संगठनका अध्यक्ष श्यामबाबु गौतमलगायतले मुलुकको विकास तथा समृद्धिका लागि कस्तो खालको जनशक्ति आवश्यक छ, सोही अनुसारको पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।