उपत्यकामा सञ्चालित सार्वजनिक यातायातभित्र यात्रुले देख्नेगरी नम्बर राख्नुपर्ने

काठमाडौँ,  जेठ १८ । उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य रुपमा राख्नुपर्ने भएको छ ।

सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने भएकाले महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायातले अगाडि नम्बर राख्नुपर्ने व्यवस्था गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित पत्रकार सम्मेलनमा यात्रुको सहजताका लागि बसभित्र पनि नम्बर राख्ने व्यवस्था मिलाइएको जानकारी दिइयो । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सार्वजनिक यातायातमा यात्रुले सरसामान धेरै छोड्ने तर सवारी साधनको नम्बर थाहा नहुँदा हराउने क्रम गरेपछि महाशाखाले सामानको सुरक्षा र सहज यात्राका लागि भित्रपटी पनि सवारी साधन नम्बर राख्ने व्यवस्था मिलाएको बताए ।

उनले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन बस स्टपमा उक्लने र ओर्लने यात्रुलाई लाइन लगाएर सवारी साधन चढाउने, लेन अनुशासनलाई कडाइ गर्ने, जेब्राक्रसिङलाई प्राथमिकता दिने, आकाशेपुलको प्रयोग गर्न लगाउनाका साथै सडक तथा फुटपाथलाई व्यवस्थित गर्न लागिएको जनाएका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक पन्तले गृह मन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकतालाई महाशाखाले कडाइका साथ लागू गर्ने प्रस्ट पारे ।

तोकिएको सिट नराख्ने, इजाजत नलिई सवारी साधन चलाउने, सिटभन्दा धेरै माइक्रोबस र टेम्पोमा यात्रु राख्ने, सार्वजनिक सवारी साधनमा धूमपान गर्ने, ध्वनि संकेत निषेधित क्षेत्रमा ध्वनि संकेत दिने, निर्धारित गतिभन्दा बढी बेगले सवारी चलाउने र दुर्घटना गराइ फरार हुने सवारी साधनलाई रु एक हजार जरिवाना महाशाखाले गर्दै आएको छ ।

महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक पन्तले कान्तिपथबाट हरेक दिन सञ्चालन भइरहेका सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने प्रयास भइरहेको जनाएका छन्।

यस्तै स्कुल, कलेज, संघसंस्थामा ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रिन्टर जडान नगर्ने तथा बढी भाडा लिने ट्याक्सी, सिसीटिभीको निगरानीमा सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गर्ने र बढी दुर्घटनाका रुपमा हेरिएका टिपर, ट्रकलाई दैनिक जाँचको व्यवस्था मिलाइएको महाशाखाले बताएकाे छ। हाल काठमाडौँ उपत्यकामा ११ लाख ३२ हजार ९२९ सवारी साधन सञ्चालनमा छन् ।

आर्थिक वर्ष २०७४/७५ को १० महिनामा उपत्यकामा १४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएकाे छ । जसमध्ये ११७ पुरुष र ३२ महिला छन् ।

चालू आवमा तीन लाख ७८ हजार ९२७ सवारी साधनलाई कारवाही गरिएको महाशाखाले बताएकाे छ ।

रासस