स्वरोजगार बन्दै महिला

रोल्पा, जेठ २० । महिलाहरु सधैं चुलो चौकामा मात्र सीमित रहनुपर्छ भन्ने नेपालीहरुको मानसिकता हुन्छ ।

यस्तो मानसिकतालाई पछि पार्दै पछिल्लो समय महिलाहरु आफुलाई बाहिरी वातावरणमा पनि समेट्ट थालेका छन् । रोल्पाली महिला सामाजिक तथा आर्थिक सशक्तीकरणका विभिन्न क्रियाकलापमा सहभागीता जनाउन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकारमा भएको महिला सहभागिताले उनीहरूलाई यस्ता क्रियाकलापमा अगाडि बढ्न मद्दत पुगेको छ ।

रोल्पा नगरपालिकाका महिलाले भने आर्थिक सशक्तीकरणका लागि सीपको जरुरी रहेको भन्दै एक महिने होजीयारी तालीममा सहभागी भएका छन् । नगरपालिकाका १० वटै वडाबाट प्रतिनिधित्व हुने गरी २४ जनाको सहभागितामा उक्त तालीम सञ्चालन भइरहेको नगरप्रमुख पूर्ण केसीले बताएका छन् ।

घरमै बसेर महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको नगरपालिकाले बताएको छ । रोजगारीका लागि महिलासमेत विदेश जाने प्रवृत्तिमा वृद्धि भइरहेको बेला स्वरोजगारमूलक यस्ता तालीमले स्वदेशमै बसेर पेशा व्यवसाय गर्न प्रेरित गर्ने सहभागीहरुको भनाइ छ ।

उता माडी गाउँपालिकाले महिलाको नेतृत्व विकास तालीम सञ्चालन गरेको जनाएको छ । अझै पनि सामाजिक संरचनामा महिलाको सम्मानजनक र सन्तोषजनक प्रतिनिधित्व नभएकाले गाउँपालिकाबाट बजेट विनियोजन गरी तालीम आयोजना गरेको माडी गाउँपालिकाकी टंकी बुढामगरले बताइन् ।

संविधानले महिलाका लागि अधिकार प्रदान गरेको भए पनि व्यवहारमा भने महिला अझै घरमै सीमित हुनुपरेकाले महिला सशक्त नहुँदासम्म अधिकार हनन् भइरहने भएकाले तालीम आयोजना गरिएको सोही गाउँपालिकाकी मनिषा घर्तीमगरले बताइन् ।