भ्रष्टाचारीलाई विद्यालयको प्रअ बनाउन चलखेल

काठमाडौ, जेठ १९ । भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नारा लिएको सरकारकै पार्टीले भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई विद्यालयको प्रधानाध्यापक बनाउन लागेको पाइएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलका भान्जा पर्ने नेकपा समर्थित शिक्षक विनोद पंडितलाई प्रअ बनाउन काठमाडौको बुढानिलकण्ठ नगरपालिकाका पार्टी पंक्ति तथा जनप्रतिनिधि नै दौडधुप गरेका छन् ।

पोखरेलको शक्ति देखाएर नेकपाका कार्यकर्ताहरुले सरोकारवालाहरुलाई धम्याउने तथा दवाव दिने गरेको स्थानीयले बताएका छन् ।

बुढानिलकण्ठ नगरपालिकाको कपनमा रहेको बालउद्धार उच्च माविमा दलगत स्वार्थका नाममा एकदर्जन आरोप तथा मुद्धामा मुछिएका व्यक्तिलाई प्रअ बनाउन आफैले निर्वाचित गरेको व्यक्ति लागेको भन्दै स्थानीयबासिन्दा रुष्ट पनि भएका छन् ।

तारकेश्वर नगरपालिकाको मानसिंह धर्म स्कूलबाट बालउद्धार स्कूलमा सरूवाको रमानापत्रसमेत किर्ते बनाएर पेश गरेका विनोद पंडित प्रहरी तथा अख्तियार अनुसन्धानमा रहेका शिक्षक हुन् ।

छोडेर आउन लागेको मानसिंह धर्म स्कूलमा उनले ३ लाखभन्दा धेरै नगद तिर्न बाँकी रहेको देखिएको छ । बालउद्धार स्कूलमा गणित विषयको शिक्षकका रूपमा गत असोजमा आएका पंडितलाइ जिल्ला विकास समन्वय इकाइले हालै तलब रोक्काको पत्र पठाएको छ ।

मनमैजु घर भएका पंडितलाई गत चैतमा महानगरीय प्रहरी परिसर काठमाडौँले बालाजु प्रहरी वृत्तलाई अनुसन्धानको लागि उपस्थित गराउन पत्र पनि काटेको छ ।उनलाई प्रअ बनाउन लागिपरेका नेकपाका कार्यकर्ताहरुले सानातिना आरोप र मुद्धा भएपनि पंडितलाई प्रअ बनाउन सकिने बताएका छन् ।

बालउद्धार उमाविकै एकजना शिक्षकले भने, “सर्वश्वसहित जन्मकैद पाएका मान्छे त ८ महिनामा छुट्छ भने सत्ता, शक्तिका आडमा विनोद पंडित प्रअ हुनु कुनै ठूलो कुरो भएन ।”

नेकपाको स्थानीय नगरकमिटि र मेयर उद्धव खरेलले खुलेर नै पंडितलाई स्थानीयबासिन्दाको भावना विपरित भ्रष्टाचार आरोपीलाई प्रअ बनाउन लागी परेका छन् । त्यसैगरी वुनेपा १० का वडाध्यक्ष नवराज भट्टराइ पंडितलाई अन्याय भएको भन्दै मिडियावाजी गरेका छन् ।

विद्यालयका बर्तमान अध्यक्ष शिव बजगाइँले गलत मानिसलाई आफू कुनै हालतमा प्रअ नबनाउने बताउँदै आएपनि सत्तापक्षीय पार्टीको दवावमा परेका छन् ।

बजगाइँले यसअघि जेठ ९ गते विनोद पंडितलाई निप्रअमा नियुक्ति गरेको पत्र आफूले नबनाएको र वडाध्यक्ष नवराज भट्टराइले आफूलाई दिएको बताएका छन् ।

बालउद्धार उमाविका पूर्व अध्यक्ष श्याम डोटेलले भने गलत पात्रलाई प्रअ जस्तो जिम्मेबारी दिइयो भने विद्यालय नै दलदलमा फस्ने भएकाले आफुहरु त्यसको विपक्षमा रहेको बताए । तर गतल मान्छेको विरोध गर्दा सत्तारुढ दल नेकपाका कार्यकर्ताले सत्ताको आडमा आफुहरुलाई पेलेको उनको भनाई छ ।

विद्यालयको प्रअ नियुक्तिमा चरम राजनीतिक चलखेल भएको पुर्वअध्यक्ष डोटेलले बताए ।
भ्रष्टाचार आरोपी पंडितलाई प्रअ बनाइएमा अदालत र अख्तियारको सहयोगी लिने विद्यालयका अधिकांश सरोकारवालाहरुको तयारी छ ।

साभार न्यून अभियान