कारागारको क्षमताभन्दा बढी कैदीबन्दी

ताप्लेजुङ, जेठ २१ । जिल्ला कारागार ताप्लेजुङमा कारागारको क्षमताभन्दा तीन गुना धेरै कैदीबन्दी भएपछि समस्या उब्जिएको छ । २५ जना क्षमताको सो कारागारमा हाल ९१ जना कैदीबन्दी कोचेर राखिएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि शौचालय, खानेपानी, भान्छा प्रयोगमा समस्या हुने गरेको छ । धेरै कैदीका कारण सुत्नलाईसमेत समस्या हुने गरेको निमित्त कारागार प्रमुख धनिराम सिंहले बताएका छन् ।

कारागारमा छ वटा मात्रै आवास कोठा रहेका छन् । साँघुरो ठाउँमा असहज तरिकाले सुत्नुपर्ने बाध्यता रहेको कैदीबन्दीहरु गुनासो गर्छन् । यस्तै तीन वटा मात्र चर्पी रहेका छन् भने बाथरुम छैन ।

कैदीबन्दीको चाप बढेअनुसार खेल मैदान विस्तार नहुँदा खेलकुदमा पनि समस्या भएको छ भने पर्याप्त ठाउँ अभावले कैदीबन्दीलाई उद्योग चलाउनसमेत कठिन छ । छुट्टै उपचार कक्षको अभावमा बिरामी परेका बेला बाहिरै बसेर स्वास्थ्य चेकजाँच गराउनु पर्नेसमेत बाध्यता छ ।

कैदीबन्दीको चाप बढ्दै गए पनि सेवा सुविधासहित क्षमता विस्तार हुन नसक्दा लामो समयदेखि समस्या थपिँदै आएको छ ।