डडेल्धुरा, जेठ २१ । घरभित्रका काममा मात्र महिलाहरु सहभागी हुनुपर्छ भन्ने पुरानो मान्यतालाई त्याग्दै पछिल्लो समयमा महिलाहरु घर बाहिर पनि सहभागी हुन थालेका छन् ।
गाउँ समाजमा भइरहेका विभिन्न उपभोक्ता समितिले गर्ने सार्वजनिक कार्यमा महिलाको सहभागितामा वृद्धि भएको छ । पछिल्लो समयमा उपभोक्ता समितिका काममा महिला सक्रियता देखिने गरेको छ ।
पुरुष रोजगारीको सिलसिलामा घर बाहिर रहने भएकाले पछिल्ला वर्षमा उपभोक्ता समितिका कामदेखि भौतिक पूर्वाधार निर्माणमा महिला मजदूरको संख्या बढी देखिने गरेका छ ।
डोजर तथा अन्य आधुनिक औजारले हुने निर्माणका काममा बाहेक पर्खाल निर्माण, ढुंगा, गिट्टी, बालुवा ओसारपसारका काममा महिलाहरु बढी सक्रिए भएका पाइन्छन् । अहिले वडा, गाउँ, नगर तथा केन्द्रीय सरकारद्वारा चालू आर्थिक वर्षको विनियोजित बजेट अनुसारका काम सम्पन्न गर्न निर्माण धमाधम भइरहेका छन् ।
उपभोक्ता समितिबाट भइरहेका अधिकांश सडक निर्माणमा महिला श्रमिक बढी खटिने गरेका अमरगढी नगरपालिका–५ सेलागाउँका उपभोक्ताहरुको भनाइ छ । डोजरको प्रयोगबाट बनिरहेका सडकबाहेकका काममा महिला श्रमिकले काम गरिरहेका छन् ।
अमरगढी नगरपालिका–७ सिरोला गाउँका महिलाले पोखरा बजारदेखि गाउँसम्मको सडक निर्माण आफैँ गरिरहेको स्थानीय समाजसेवी खडक बोहराले बताए ।
वडा कार्यालयको रु ५० हजार बराबरको रकममा दैनिक ज्यालादारीमा परम्परागत स्रोत साधनको प्रयोग गरी महिलाले सडक निर्माण सम्पन्न गरेको वडा सदस्य भक्त साहुले बताए ।
झण्डै दुई किलोमिटर लम्बाइ रहेको सो सडक तीन मिटर चौडाइ खनिएको उनले बताए । दैनिक ४० महिलाको सहभागितामा सडक निर्माण गरिएको कलावती भण्डारीले जनाए ।
कामका लागि सदरमुकाम क्षेत्रमा धाउँदै गरेका महिलालाई सडक निर्माणमा लगाइएपछि गाउँघरमै केही दिन भए पनि ज्यालादारीमा काम गर्न पाउँदा महिला हर्षित भएका छन् ।