सरकारका नारा वायुपंखी घोडाकोे तर काम बयलगाडाको जस्तो : प्रवक्ता शर्मा

रुकुम, जेठ २१ । हालको सरकार संघीयताप्रति गम्भीर नभएको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आरोप लगाएका छन् ।

आज पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३ पोखरामा आयोजित कार्यकर्ता भेला कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरुले यो कुराको पुष्टि गरेको बताए । सरकारले प्रस्तुत गरेको बजेट र निर्णयमा केन्द्रीयता लादिएको भन्दै मुख्य मन्त्रीहरुले अभिव्यक्ति दिइरहेको उनको भनाइ छ ।

संघीयता शक्तिको अधिकतम विन्यास हो, तर प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरु अहिलेको बजेट र सरकारका निर्णयमा केन्द्रीयता लादिएको अभिव्यक्ति दिइरहेको उनले बताएका छन् ।

सरकारले नारा वायुपंखी घोडाको दिने तर कामको पारा भने बयलगाडाको रहेको भन्दै प्रवक्ता शर्माले सरकारलाई काँग्रेसले रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिकामा मद्दत गरिरहेको उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको भूमिकालाई कमजोर देख्ने र बहुमतको दम्भले जे गरे पनि जे बोले पनि हुने मनःस्थिति पालिरहेमा काँग्रेस कडा रुपमा प्रस्तुत हुनेसमेत बताए ।

फरक प्रसंगमा प्रवक्ता शर्माले नेपालका सबै कम्युनिष्ट पार्टीलाई संसदीय प्रक्रियाको बाटोमा आउन अनुरोध गरे ।

उनले पार्टीभित्र संरचनाहरुको पूर्णता नहुनु, नाकाबन्दीताका खुलेर बोल्न नसक्नु पनि काँग्रेसको हारको कारण रहेको उनको भनाइ छ ।