लोकसेवा आयोगद्वारा तीनवर्षीय रणनीतिक योजना तयार

काठमाडौँ, जेठ २२ । सातै प्रदेशमा संगठनलाई व्यवस्थित बनाउनका लागि लोकसेवा आयोगले तीन बर्षीय ‘रणनीतिक योजना’ बनाएको छ ।

करीब एक वर्षमा आयोगका कर्मचारी र विज्ञको सुझाव र समन्वयमा सो योजना तयार गरिएको हो । उक्त योजना आयोगको ६८ औंँ वार्षिक उत्सवका अवसरमा आगामी असार १ गते सार्वजनिक गरिने सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए ।

संघीय परिवेशमा आयोगको विश्वसनीयतालाई कायम राख्ने, योग्यता प्रणाली निर्धारण गर्ने, प्रशासनिक जनशक्तिलाई प्रविधिमैत्री बनाउने लगायत विषय योजनामा उल्लेख छ । वार्षिकोत्सव मनाउन आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आठ सदस्यीय समिति निर्माण गरिएको छ ।

सरकारी सञ्चारमाध्यमका प्रतिनिधि र आयोगको प्रचारप्रसार उपसमितिको मंगलबार बसेको बैठकले वार्षिकोत्सवका अवसरमा संगठनको इतिहास र विभिन्न गतिविधि ‘गोरखापत्र’मा प्रकाशन गरिने निर्णयसमेत गरेको छ ।

आयोगले रेडियो नेपालबाट परिसंवाद कार्यक्रम चलाउने तथा निजी राष्ट्रिय दैनिक तथा विद्युतीय सञ्चारमाध्यमलाई संगठनको वार्षिकोत्सवका सन्देश तथा सूचना प्रवाह गर्नका लागि अनुरोध गरेको छ ।