यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ ताना शर्मालाई प्रदान गरिने

काठमाडौँ, जेठ २३ । यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ ।

लीलाध्वज थापा स्मृति प्रतिष्ठानले नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा पुर्याएको योगदानको कदर गर्दै शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले बताए । उक्त पुरस्कारको राशि रु २५ हजार र ताम्रपत्र रहेको छ ।

सो सम्मान आगामी असार १५ गते प्रदान गरिने बताइएको छ । नेपाली साहित्यमा नियात्रामा राम्रो वर्णन गर्ने शर्मा वरिष्ठ नियात्राकारका रुपमा स्थापित छन् ।

उनी अंग्रेजी विषयका प्राध्यापकसमेत हुन् । वि.सं १९७८ मा जन्मिएका लीलाध्वज थापाले वि.सं २०१४ मा मन उपन्यासबाट मदन पुरस्कार प्राप्त गरेका थिए ।

उनका ‘शान्ति, पूर्व स्मृति, अमर माया नाटक, ‘दारी’ चर्चित निबन्ध हुन् । वि.सं २०४१ मा थापाको निधन भएपछि उनको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले साहित्यिक गतिविधि तथा स्रष्टालाई सम्मान गर्दै आएको छ ।

सोही सम्मानबाट गत वर्ष वाङ्मय शताब्दी पुरस्कार सत्यमोहन जोशीलाई सम्मान गरिएको थियो ।