ओरालो लाग्यो शेयर बजार, हेर्नुहोस् कति अंकले घट्यो

काठमाडौँ, जेठ २४ । बुधबार बढेको शेयर बजार आज भने २५.६८ अंकले ओरालो लागेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा पुगेको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४७ बिन्दुले घटेको छ ।

आज कूल १६६ कम्पनीको १४ लाख ४१ हजार २७७ कित्ता शेयर रु ४६ करोड ८५ लाख ६० हजार ३४९ मूल्यमा खरिद बिक्री भएका छन् ।

स्टकका अनुसार बैंकिङ २०.७५, होटल ३९.३९, विकास बैंक २४.४५, जलविद्युत् ३५.५९, वित्त क्षेत्र ५.६६, बीमा १७४.७६, उत्पादन १६.८, अन्य १४.७८ र माइक्रोफाइनान्स ३५.५४ बिन्दुले ओरालो लागेको छ ।

लगानीकर्ताको आन्दोलनका कारण मंगलबार एक कित्ता पनि शेयर कारोवार हुन सकेन । बुधबार सरकार र लगानीकर्ताबीच सहमति भएपछि अपराह्न एक बजेदेखि बजार खुलेको थियो ।

बजार खुलेलगत्तै करीब १८ अंकले वृद्धि भएको थियो ।