लमजुङ, जेठ २५ । लमजुङमा लमजुङ जिल्लामा विचौलियाहरुलाई सरकारी कार्यालयमा प्रवेश रोक लगाइएको छ ।
सरकारी कार्यालयमा आएका सेवाग्राहीसँग सहयोगको बहानामा रकम असुली गर्ने र सरकारी कागजपत्र चलाउने बिचौलियालाई प्रशासनले कार्यालयभित्र प्रवेश गर्न रोक लगाएको हो ।
बिचौलियाले सेवाग्राहीसँग महँगो शुल्क लिँदै दुःख दिने र कार्यकक्षमै पसेर अनधिकृत रुपमा सरकारी कागजपत्र चलाउने गरेको गुनासो बढेपछि उनीहरुलाई कार्यालयभित्र प्रवेश गर्न रोक लगाइएको हो ।
रकम लिँदै कार्यकक्षमा आउने बिचौलियालाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जनाए । जिल्लामा विशेषगरी मालपोत, जिल्ला प्रशासनलगायत कार्यालयमा बिचौलियाले सेवाग्राहीलाई दुःख दिएको गुनासो बढेको हो ।
कुनै पनि सरकारी कार्यालयमा सेवाग्राही आफैँले सहज रुपमा काम गर्न सक्ने र नसकेमा सम्बन्धित कार्यालयका कर्मचारीले नै सहयोग गर्ने प्रबन्ध मिलाएको प्रजिअ ढकालले जानकारी गराए ।