ललितपुर, जेठ २६ । आगामी साउनदेखि ललितपुर महानगरपालिका प्लाष्टिक मुक्त क्षेत्र हुने पक्का भएको छ ।
विश्व वातावरण दिवस २०१८ अवसरमा आज ललितपुर महानगरपालिका वडा नं. ५ द्धारा आयोजित बृहत सरसफाइ तथा जनचेतनामूलक कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले सो कुराको जानकारी गराएकी हुन् ।
ललितपुर महानगरपालिकाले विश्व वातावरण दिवस २०१८ को अवसरमा सप्ताव्यापी सरसफाई कार्यक्रम अन्तर्गत आज ललितपुर महानगरपालिका वडा नं. ५ मा बृहत सरसफाई कार्यक्रम राखेको हो ।
उपमेयर सत्यालले भनिन्, ‘सरसफाई कार्यक्रम अन्तर्गत भएको यो एकदिने कार्यक्रमले मात्रै पुग्दैन, हामीले चेतनशील भएर हामीले आफ्नो घर, आँगन मात्रै नभएर टोलटोल र सडकहरु पनि सफा र स्वच्छ राख्नु पर्दछ ।’
‘आफ्नो घर, टोल आफै सफा राखौं, सफा रहौं, स्वस्थ बनौं ।
जथाभावी फोहोर फाल्ने बानी नगरौं’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहभागहिरु हातहातमा कुचो लिएर उपस्थित भएका थिए । कार्यक्रममा स्थानीय संघसंस्था, नेपाली सेना, कुलिनरी आर्ट, ललितपुर माध्यमिक विद्यालय,राजनीतिक दलहरुका स्थानीय प्रतिनिधिहरु सहित व्यापक जनसहभागिता रहेको थियो ।