विराटनगर, जेठ २७ । प्रदेश नं. २ मा सरकार परिवर्तन गर्ने कुनै पनि योजना नरहेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाएका छन् ।
प्रदेश २ मा (नेकपा)को समर्थन फिर्ता र केन्द्र सरकारमा संघीय समाजवादी फोरम, नेपालको प्रवेशसँगै प्रदेश नं. २ को सरकार धरापमा परेको चर्चा चलिरहेका बेला अध्यक्ष दाहालले यस्तो खालको विचार व्यक्त गरेका हुन् । उनले भने– ‘हामी सरकार बिगार्ने र बनाउने खेलमा रहेका छैनौँ ।
मुलुकले लामो समयपछि स्थिर सरकार पाएकाले सरकारको ध्यान विकास निर्माण र समृद्धि आर्जनमा केन्द्रित रहेको उनले बताएका छन् ।
कार्यकारी राष्ट्रपतिको चर्चासँगै पाँच वर्षपछि प्रचण्ड राष्ट्रपति बन्ने कुराको चर्चा भइरहँदा उनले अहिले त्यो बहशको विषय नभएको बताएका छन् । अहिले देशलाई समृद्ध बनाउने बेला आएको उनको भनाइ छ । त्यो विषयमा त्यति बेलै चर्चा गर्नु उपयुक्त हुने उनी बताउँछन् ।
अध्यक्ष दाहालले सत्यनिरुपण तथा मेलमिलाप आयोगले सोचे अनुसारको काम गर्न नसकेको स्विकार गर्दै समय थप गरेर कामलाई अगाडी बढाउने बताए ।
पहिलो अभ्यास भएकाले संघियता कार्यान्वयनमा केही जटिलता आएको उनको भनाइ छ । तर, त्यसैका आधारमा कसैले नियतबस संघियता असफल बनाउन खोज्यो भन्नु गलत हुने उनको तर्क छ ।
उनले भने–संघियताको नयाँ अभ्यास भइरहेको छ, केही जटिलता छन् । तर असफलै बनाउन खोजिएको भन्नुको औचित्य छैन ।
मुलुक नयाँ अभ्यासमा चलिरहेको भएकाले बिस्तारै सवै कुरा ठीक हुँदै जाने उनको भनाइ छ ।