‘सुशासन र राजनीति स्थिरताका लागि कम्युनिष्ट पार्टीहरु एकजुट’

विराटनगर, जेठ २७ । मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एकजुट भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

आज उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता र नयाँ राजनीतिक प्रक्रिया थालेपछि सबैभन्दा बढी उद्योग संगठनका पदाधिकारीहरुसँग छलफल गरेको जनाउँदै निजी क्षेत्रसंगको सहकार्यबिना मुलुकमा आर्थिक विकास असम्भव हुने बताए ।

उनले राजनीतिक स्थिरता कायम गर्न आफूले साहसिक निर्णय गरेको र यसैको उपजबाट दुवै कम्युनिष्ट पार्टी एक भएको भन्दै राज्यमा ठूला–ठूला परिवर्तन राजनीतिक पार्टीहरुको एकता र सहकार्यबाट नै सम्भव भएको प्रस्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले शान्ति सम्झौतापछि १० वर्ष संविधान र लोकतान्त्रिक संरचना निर्माण गर्नमा समय खर्च भएको धारणा व्यक्त गर्दै अबको दशकमा विकास निर्माण र समृद्धिका लागि संकल्प गर्न सबैसँग अनुरोध गरे ।

राजनीतिक चेतना र आर्थिक विकासको क्रियाकलापमा अग्रणी भूमिका निभाएको विराटनगरवासीले अब आर्थिक विकासको संकल्प लिनुपर्ने समय आएको भन्दै उनले चीनसँगको आर्थिक र व्यापारिक साझेदारी कायम गर्न किमाथाङको बाटो बन्नुपर्ने बताए ।

उनले सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति, युवालाई रोजगार, बन्द उद्योग सञ्चालन र नयाँ उद्योग स्थापना गर्न कोशेढुंगा बन्ने उल्लेख गर्दै नयाँ बजेटले आर्थिक स्थिति सुदृढ गर्ने र व्यापार घाटा कम गर्ने सिद्धान्तबाट प्रेरित भएर आएको जनाएका छन् ।

भारत–चीन दुवै देशका नेता तथा जनताले नेपालको विकास र समृद्धि होस् भन्ने चाहेको भन्दै अध्यक्ष प्रचण्डले कृषिमा आधारित उद्योगलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रसँग साझेदारी तथा हातेमालोबिना आर्थिक विकास असम्भव हुने जनाए ।

जिल्ला उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्यायले संगठनको गतिविधिबारेमा जानकारी गराएका थिए ।

उद्योग तथा व्यापारमा उल्लेखनीय योगदान पुर्याउने महेन्द्र गोल्छा, जुद्धबहादुर श्रेष्ठलाई मरणोपरान्त सम्मान गर्नुका साथै संगठनलाई सहयोग गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, सञ्चारकर्मी नवीन कर्ण, गणेश लम्साल, सच्चितानन्द यादव, बज्रभूषण चौधरीलगायतलाई सम्मान पनि गरिएको थियो ।