काठमाडौं, जेठ २८ । पछिल्लो समय उपत्यकामा चोरीका घटना बढेपछि त्यसको नियन्त्रणका लागि महानगरीय अपराध महाशाखाले विशेष अभियान थालेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा बढेको चोरी रोक्न प्रहरीले जेठ १३ गतेदेखि विशेष अभियान अगाडि बढाएको हो । दिनको समयमा १० देखि ६ बजेसम्म सादा पोशाकमा गस्ती तथा आकस्मिक चेकजाँच गरिएको तथा रातको समयमा ११ देखि ४ बजेसम्म एम्बुस डिउटीमा प्रहरीलाई खटाएर अभियान सञ्चालन गरिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए ।
पक्राउ परेकामध्ये १९ जनासँग प्रहरीले चोरीका विभिन्न सामानहरु समेत बरामद गरेको छ । उनीहरुविरुद्ध चोरी मुद्दामा प्रहरीले कारबाही थालेको छ ।
त्यस्तै, अन्य ५३ जनालाई सार्वजनिक अपराध मुद्दामा कारबाही गरिएको र २ सय २१ जनालाई सोधपुछपछि निगरानीमा राखेर छाडेको छ । सबैभन्दा धेरै चोरी उपत्यकामा हुने गरेको पाइन्छ ।
खासगरी घरमा कोही नभएको बेला ताला फुटाएर धेरै चोरी हुने गरेको छ । चोरीको प्रमाण भेट्टाउन गाह्रो हुने भएकाले धेरै जसो पक्राउ पर्दैनन् ।
पक्राउ परे पनि छुटेर फेरि सोही अपराधमा फर्कने भएकाले नियन्त्रणमा समस्या भएको प्रहरी अधिकारीहरुको भनाइ छ ।