२००४ सालमा नेपाली कांग्रेसको उदयसँगै विराटनगरको एक जुटमिलबाट गिरिजाप्रसाद कोइरालाले जन्माएको मजदुरहरुको संगठन ट्रेड युनियन कांग्रेस हो । विगत दुइ दशकदेखि नेपाली कांग्रेस र नेपाल ट्रेड युनियन कांग्रेसको राजनीतिमा सक्रिय रही समाजसेवालाई पहिलो प्राथमिकतामा राखि दिनरात नभनी दुःखी असहायका लागि साहारा बन्दै आउनुभएकी कल्पना अधिकारी नेपाल ट्रेड युनियन कांग्रेसमा दुई कार्यकाल केन्द्रिय सदस्य हुँदै हाल ट्रेड युनियनको अनौपचारिक तर्फको उपाध्यक्ष हुनुहुन्छ । धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिकाबाट स्थानीय निर्वाचनमा उपमेयरको उम्मेदवार रहेपनि नेपाली कांग्रेसले माओवादी केन्द्रसँग सहकार्य गरेको हुनाले उहाँले आफ्नो उम्मेदवारी पार्टीका निमित्त फिर्ता लिनुभयो । त्याग र तपस्याले आफ्ना पार्टीका लागि बेलाबखत आफ्ना अवसरहरुलाई बलिदानको रुपमा चढाउँदै आउनु भएको छ । नेपाली कांग्रेसको १२ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भई १३ औ महाधिवेशनमा महासमिति सदस्य रही केन्द्रिय सदस्यमासमेत उम्मेदवार रहनुभएको थियो । धादिङ्ग जिल्लामा जन्म लिई धादिङ्ग जिल्लालाई नै कर्मथलो बनाउँदै आउनु भएकी अधिकारी नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा महिला उपाध्यक्ष पदमा उम्मेदवारको रुपमा मैदानमा उत्रिनु भएको छ । नेपाली कांग्रेसको सक्रिय राजनीति गर्दै ट्रेड युनियन कांग्रेसको आन्दोलनमा निरन्तर लागि पर्नुभएकी कल्पना अधिकारीसँग लोकसत्ता डटकमका लागि गरिएका संक्षिप्त कुराकानी :
ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा तपाइको उम्मेदवारी के मा रहन्छ ?
मेरो उम्मेदवारी महिला उपाध्यक्षमा हो । ट्रेड युनियन कांग्रेसको इतिहासमा महिला उपाध्यक्ष पद भनेको आफैमा गरिमामय पद हो । चार लाख हाराहारीमा रहेका प्रजातान्त्रिक मजदुरहरु रहेको यस संगठन त्यसमा पनि करिब एकाउन्न प्रतिशत महिला मजदुरहरु श्रम क्षेत्रमा आवद्ध छन् । महिला मजदुरहरुको अधिकार मात्र नभएर समग्र मजदुरहरुको हक अधिकारलाई सुनिश्चित गर्नका निमित्त पनि यो पद आफैमा महत्वपूर्ण छ ।
नेपाल ट्रेड युनियन कांग्रेसमा तपाईका भावी योजना तथा एजेण्डाहरु के कस्ता छन् ?
मजदुरहरुका विषयमा लामो समयदेखि उठाउँदै आएका एजेण्डाहरु मजदुरका बालबालिकालाई निःशुल्क शिक्षा, विदेश पलायन हुँदै गरेका युवालाई स्वदेशमानै विशेष रोजगारीको व्यवस्था तथा श्रमको सम्मान सहितको पारिश्रमिक नै मेरा भावी योजना तथा एजेण्डाहरु हुन् । हालसम्म श्रम ऐन बनिसक्दा पनि कार्यान्वयनमा ल्याउन सकिएको छैन । श्रम ऐन कार्यान्वयनका लागि पनि ट्रेड युनियनले अथक प्रयास गर्ने जानकारी गराउन चाहन्छुु । मजदुरका समस्या ट्रेड युनियन कांग्रेसले मात्र समाधान गर्न सक्छ ।
अहिलेसम्म ट्रेड युनियन कांग्रेसले साँच्चिकै मजदुरका हितमा कति काम गर्न सफल भएजस्तो लाग्छ ?
मुक्त कमैयाका हितमा पनि ट्रेड युनियन कांग्रेसले काम गरेको छ । पहिला पहिला मालिकले मजदुरलाई पासविक व्यवहार गर्ने चलन थियो । त्यसको अन्त्य यही ट्रेड युनियन कांग्रेसकै संगठनका कारणले अन्त्य भयो । सामाजिक सुरक्षा राज्यको तर्फबाट ऐन लेखाउन ट्रेड युनियन कांग्रेस सफल भयो । मजदुरका हितमा राज्यकै तर्फबाट उचित कानून ल्याउन ट्रेड युनियन कांग्रेस विगत लामो समयदेखि सक्रिय रहँदै आएको छ । मजदुरले नियमअनुसार पाउँदै आएको तलब सुविधामा शत्प्रतिशत वृद्धि हुनुपर्छ भन्ने कुरालाई ट्रेड युनियन कांग्रेसले मुख्य एजेण्डाका रुपमा लिएको छ ।
ट्रेड युनियन कांग्रेसमा महिलाको सक्रिय सहभागीता कस्तो छ ?
ट्रेड युनियन कांग्रेसले महिलाको सहभागीता संशोधित विधानमा नै ३३ प्रतिशत सुनिश्चित गरेको छ । ट्रेड युनियन कांग्रेसमा जात, भाषा, धर्म, धनी, गरिब केही नछुट्याउने भएकाले यस संस्थामा महिलाको सहभागीता सन्तोषजनक र आशा लाग्दो छ ।
तपाई त एकल महिला राजनीति गर्न कत्तिको कठिन छ ?
अवश्य पनि कठिन छ । एक त महिला त्यसमा पनि एकल । राजनीतिमा महिला सधैं सक्रिय रहन निकै संघर्ष र मेहनत गर्नुपर्छ । नेपाली परम्परा संस्कृति अनुसार नेपाली महिलाले आफ्नो श्रीमान्लाई सर्वोपरी ठान्छन् । आफ्नो श्रीमान् गुमाएको पीडालाई बिर्सिएर राजनीतिमा होमिनु भनेको मेरा लागि सामान्य कुरा रहेन । त्यसमा पनि हाम्रो समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण त्यति सकारात्मक भने पाइदैन । त्यसका बावजुद पनि आफ्ना बालबच्चाको हेरचाहदेखि लिएर घर परिवार लगायत सम्पूर्ण व्यवहार आफ्नै थाप्लोमा राख्दै अघि बढ्नु मेरा लागि निकै चुनौति बन्यो । लामो समयदेखिको नेपाली कांग्रेस र नेपाल ट्रेड युनियन कांग्रेसप्रतिको मेरो सक्रियता कायम राख्दै श्रमिक जनताका लागि केही गर्ने लक्ष्यका साथ अघि बढेकाले मैले मेरा चुनौतिलाई सामान्य रुपमा लिने गरेकी छु । आफ्नु व्यक्तिगत जीवनमा जे जस्ता बाधा व्यवधान खेप्नुपरे पनि मजदुर वर्गमा भने सुख शान्ति र चैनको आभास होस् भन्ने कामना गर्दछु ।