गोर्खा आन्दोलनबाट प्राप्त इतिहास समाप्त पार्न चारैतिरबाट षड्यन्त्र : गुरुङ

काठमाडाँै, जेठ २९ । आफ्नो नेतृत्वमा गोर्खा आन्दोलनले प्राप्त गरेको ऐतिहासिक सफलतालाई समाप्त पार्न चारेतिरबाट षड्यन्त्र भइरहेको पूर्वगोर्खाहरुको संस्था गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले बताएका छन् ।

गुरुङले राजधानीमा पत्रकार सम्मेलन गरेर आफूले सबै त्याग गरेर २७ वर्षसम्म रगत र पसिना बगाएर निर्माण गरेको इतिहासलाई समाप्त पार्नका लागि षड्यन्त्र गरिएको भन्दै अब मुकदर्शक बनेर नबस्ने त्यसको डटेर सामना गर्ने निर्णय गरेको बताए ।

गेसोको संस्थापक सभापतिको हैसियतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमसहित गोरखा भर्तीले नेपालीको स्वाभिमान र स्वाधिनतामा लागेको कालो दागलाई मेटाउन सशक्त नेतृत्व गर्दै अघि बढ्ने निर्णय गरेको जनाएका छन् ।

गेसोको नेतृत्वमा भएको प्रथम चरणको आन्दोलन सफलतापछि दोस्रो चरणको आन्दोलनका रुपमा प्रथम र दोस्रो विश्व युद्धमा मारिएका नेपाली युवाको सम्झना र सम्मानमा स्याङ्जाको साल्मेडाँडामा विशाल गोरखा समाधि निर्माण गर्ने घोषणा गरेको र कुनै प्राविधिक बाधा अड्चन नआएमा आगामी कात्तिक महिनासम्ममा प्रथम चरणको निर्माण सम्पन्न भइसक्ने उनले जानकारी गराएका छन् ।

उक्त समाधि नेपाल र बेलायतका प्रधानमन्त्रीज्यूहरुबाट संयुक्त रुपमा उद्घाटन हुने कुराको जानकारी गराउँछु– गुरुङले भने । सम्पूर्ण भूपू गोर्खा सैनिक एकजुट भएर आन्दोलन गरेको हुनाले नै विश्वमा चर्चित गोरखा समाधिको परिकल्पना गर्न सकेको भन्दै यस्तो ऐतिहासिक आन्दोलनको सफलताको उपलक्ष्यमा सबै एकजुट भएर अघि बढ्न अनुरोध गरेका छन् ।

नेपालले बेलायती साम्राज्यवादीसँग खोज्नु पर्ने हरहिसाब धेरै नै बाँकी छ, यस्तो हिसाब खोज्न सक्ने मजबुत प्रमाणको रुपमा युद्धमा लगेर अन्यायपूर्वक मारिएका हजारौँ पितृको नाममा साल्मेडाँडामा विश्वले छर्लंग देख्न सक्ने गरी नेपालका १९ जातजाति जनजातिको विश्वकै विशाल गोर्खा समाधि निर्माण गरिएको उनले जनाएका छन् ।