चितवन, जेठ २९ । बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद दाहालले जनमुखी योजना धेरै नआउने, पहिलो गियर लगाइएको र उडान भर्दै जान्छ बताए ।
राष्ट्रिय जनता पार्टी(राजपा) सरकारमा आइहाल्ने निर्णय नभएको बताउँदै उनले छलफल चलिरहेको जनाएका छन् । फौजदारी अभियोग लागेका सांसद्लाई नियमावलीमा छुट दिइए पनि ऐनमा निलम्बन नै शब्द राख्ने कुरामा दलबीच सहमति भइसकेको पनि अध्यक्ष दाहालले बताएका छन् ।
जनतालाई कुरा बुझाउन नसक्दा नियमावलीको विषयमा मतभेद जस्तो देखिए पनि नियमावलीको भाषा निलम्बनबाहेक अरु अर्थ लाग्ने खालको नभएको उनको भनाइ छ । काम नगर्ने ठेकेदारलाई सरकारले कडाइपूर्वक कारवाही गर्ने प्रष्ट पार्दै उनले भने– म जसको घरमा बसेको छु त्यो घरको मान्छेले पनि गल्ती गर्याे भने कारवाही हुन्छ ।
उक्त सन्दर्भमा मिडियामा आएका विषयमा असन्तुष्टि जनाउँदै अध्यक्ष दाहालले कहिलेकाहीँ मिडियामा उल्टोपाल्टो आउने गरेको पनि उल्लेख गरे । मिडियाले आफ्ना लागि कोड अफ कन्डक्ट आफँै बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
अध्यक्ष दाहालले भने– तपाईंहरु आफंैँले कोड अफ कन्डक्ट बनाउनुहोस् । प्रेसको पनि मूल्य, मान्यता र आचारसंहिता हुन्छ, त्यो कुरा प्रेसले नै निधो गरोस् । उनले कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची नभएको बरु सुशासन, विकास र समृद्धि रहेको प्रस्ट पारे ।
एउटै पार्टीका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष होइनन् भन्ने विषयको अर्काे प्रसङ्गमा उनले सभामुख, उपसभामुख हुनुभन्दा अघि उनीहरु पार्टीमा रहे पनि अहिले कुनै पनि पार्टीमा नरहेको जनाएका छन् ।