पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले राजधानीमा मसाल जुलुस निकालेको छ।
जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले भाउ बढाएपछि नेविसंघ सरकार विरुद्ध आन्दोलित हुँदै आएको छ ।
सरकारले अन्तर्राष्ट्रिय मूल्य समायोजनको नाममा एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै नेविसंघ त्यसको बिरोधमा उत्रिएको हो।
जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत आज राजधानीका प्रमुख क्याम्पस क्षेत्रबाट राके जुलुस प्रदर्शन निकालिएको हो ।
आशिक बाहेक सबै क्षेत्रको जुलुस सफल भएको नेविसंघका केन्द्रिय सदस्य तारक केसीले बताएका छन् ।
सरकारद्वारा निषेधित बानेश्वर स्थित शान्तिनगर गेटबाट निकालिएको जुलुसको नेतृत्व केन्द्रिय सदस्य तारक केसी मदन भण्डारी र खडग सुब्बाले गरेको संघले जनाएको छ ।
यस्तै चाबहिल, नेपालटार, भृकुटीमण्डप लैनचौर घणटघर ताहाचल पुल्चोक कलन्की बागबजार लगायत देशभर राके जुलुस सहित प्रदर्शन गरिएको केन्द्रिय सदस्य केसीले जानकारी दिए ।
संघले घोषित कार्यक्रम अन्तर्गत ३१गते देश भर प्रधानमन्त्रीको पुतला दहन गर्ने कार्यक्रम रहेको पनि केन्द्रिय सदस्य केसीले जानकारी गराए ।