असार १४ । पश्मिना उत्पादनलाई प्राथमिकता दिँदै मुस्ताङको चराङमा पशुपक्षी विकास मन्त्रालयले च्याङ्ग्रा फार्म स्थापना गर्ने भएको छ ।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा मन्त्रालयले हिमाली आयोजना अन्तर्गत उक्त स्थानमा तीनसय च्याङ्ग्रा पालनको तयारी गरेको छ । केही तीब्बती नश्ल, तथा केही स्थानीय नश्लका च्याङ्ग्रा उक्त फारमा राखिने र सो फारमको स्थापनाका लागि एक हजार रोपनी जग्गाको प्रबन्ध भइसकेको पशुपक्षी विकास मन्त्रालयले जनाउको छ । उक्त स्थानमा च्याङ्ग्रा पालनका लागि घाँसखेती तथा बस्नका लागि टहरा व्यवस्थित गरेपछि दक्ष जनशक्तिको समेत व्यवस्था गरिने मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलका अनुसार गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङ्ग्राको छनोट तथा राम्रो उत्पादन गर्न नसक्ने ठिमाहा खालका च्याङ्ग्रा मासुका लागि प्रयोग गर्नका लागि वर्गीकरण गरिने छ । आगामी आवभित्र सम्पन्न गरिने उक्त आयोजनाको प्रारम्भिक अध्ययन तथा स्थानीय सरोकारवालासँग छलफल सम्पन्न भइसकेको छ ।
उक्त आयोजना सम्मन्न गर्नका लागि स्थानीयवासीहरुले पनि मन्त्रालयलाई सहयोग गर्न सकारात्मक रहेको प्रवक्ता पौडेलले बताए । करिब रु तीन करोडको लागतमा तयार हुने अनुमान गरिएको छ भने आयोजनाका लागि यस वर्ष रु एक करोड विनियोजन गरी प्रारम्भिक कार्यका लागि केही खर्च समेत गरिएको छ ।