काठमाडौँ, जेठ ३० । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ८ शंखादेबी निवासी कबि राजु आचार्यले “गजेन्द्र मोक्ष” कृतिलाई बजारमा ल्याएका छन् ।
श्रीमद्भागवत महापुराणको “गजेन्द्र मोक्ष” खण्डलाई नेपालीमै पढ्न पाइने गरी अनुष्टुप छन्दमा प्रस्तुत गरिएको छ । अध्यापन पेशामा संलग्न आचार्यले यसअघि पनि मोडन म्याथम्याटिक्स अन रियल वल्र्ड प्राक्टिस , संक्षिप्त देबी भागवत, नवाह चन्द्रिका र राजा हरिस चन्द्रको कथा बजारमा ल्याइसकेका छन् ।
स्वर्गीय पिता बिश्वनाथ आचार्यप्रति समर्पित गजेन्द्र मोक्ष मंगलबार एक समारोहका बीच ललितपुरको ज्वागलमा सार्वजनिक गरिएको हो । कार्यक्रमको मुख्य अंशमा उपस्थित अतिथिहरुले कविताका मुख्य अंश बाचन गरी पुस्तक बिमोचन गरिएको थियो ।
लोकोपकारका लागी सबैले बुझ्ने भाषामा लेखिएको उक्त कविताले भौतिकतामा रुमलिएका मानबलाई सत्मार्गमा ल्याई आध्यात्मिक चिन्तनको बाटोमा अघि बढ्नका लागि सहयोग पुर्याउने लेखक आचार्यले बताए ।
उक्त कार्यक्रममा समाजसेवी तथा ज्वागल टोल सुधार समितिका सदस्य शिब अर्यालले गजेन्द्र मोक्ष कबिताबाट सामान्य लेखपढ गर्न सक्ने जो कोहिले साहित्य सुधारसको स्वाद लिन पाउने जनाउँदै लेखकलाई भविष्यमा पनि यस्ता कृतिहरु सरल भाषामा उपलब्ध गराउनका लागि उत्प्रेरणा जगाएका छन् ।
सो कृति बिमोचन कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै बरिष्ठ कृषि बैज्ञानिक मधुसुदन उपाध्यायले गजेन्द्र मोक्ष कविताले हामिभित्रको अहंकारलाई मेटाएर आध्यात्मिक चिन्तनमा लाग्न उत्प्रेरणा मिल्ने बताए ।
पाठकहरुले यसलाई अध्ययन गरी यसको सारलाई ग्रहण गरिदिनका लागिसमेत उपाध्यायले अनुरोध गरेका छन् । कार्यक्रमको अन्त्यमा सुरसुधा समुहबाट गजेन्द्र मोक्षकै कविता संगीतका साथ बाचन गरिएको थियो ।
कबि आचार्यले भबिष्यमा पनि आध्यात्मिक चिन्तनमा आधारित अन्य लेख रचनाहरु प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिमोचन कार्यक्रममा पत्रकार, समाजसेवी, र आध्यात्मिक चिन्तनमा लागेका व्यक्तित्वहरुले उपस्थिति जनाएका थिए ।