प्रहरीले अनुसन्धान गर्न ‘बडी क्यामेरा’ प्रयोग गर्दै

झापा, जेठ ३१ । अपराध अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीले आधुनिक प्रविधिको प्रयोगमा ल्याएको छ ।

अपराधिलाई पक्राउ गर्नका लागि र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग गर्न थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले बताए ।

इप्रकाको कार्यप्रगति विवरणबारे जानकारी दिन बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रनानि कोइरालाले भने– यो प्रविधिले अपराधीमात्र होइन प्रहरीको चालचलन र गतिविधिबारे जानकारी लिन पनि सहज हुन्छ, कतिपय घटनामा प्रहरी पनि दोषी भएको आरोप लाग्ने गरेको छ ।

इप्रकाबाट क्यूआटी मोटरसाइकलमा परिचालन हुने र गस्तीमा जाने प्रहरीका लागि ‘बडी क्यामरा’ जडान गरिएको हो । मोटरसाइकलमा हिँड्नेको हेलमेट र गस्तीमा हिँड्नेको शरीरमा साना क्यामरा फिट गरिएको प्रहरीले जानकारी गराएको छ ।

प्रविधिको सहायताले अनुसन्धान छिटो हुने र पीडितले चाँडै न्याय पाउने प्रहरीको अपेक्षा छ । इप्रकाले यसअघि नै नगरका विभिन्न क्षेत्रमा सिसी क्यामेरा जडान गरिसकेको छ ।