संसद छाडेर जनतामाझ जाने कांग्रेसको चेतावनी

काठमाडौं, जेठ ३१ । संसद छाडेर जनतामाझ जाने प्रमुख विपक्षी दल नेपाली कांग्रेसको चेतावनी छ ।

हरेक ठाउँमा संविधानको भावना विपरीत रहेको भन्दै विपक्षीले सरकारलाई खबरदारी गरेको हो । विहीबार बसेको संसदको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए ।

सरकारले पनि त्यही नियम, कानुन र संविधान अनुसार काम गर्नु पर्ने उनको भनाइ छ । उनले भने ‘नियम, कानुन, संविधान छ यसको पालना होस् । त्यही नियम, कानुन, संविधान अन्तरगत बसेर काम गर्न हामी आएका हौं,’ ‘सरकारलाई योभन्दा बाहिर जाने अधिकार छैन ।

संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोचविचार गरेर राखेको भन्दै उनले दलीय स्वार्थ अनुसार गलत ब्याख्या नगर्न अनुरोध गरे ।

संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने उनले चेतावनी दिएका छन् ।

संसदमा विपक्षीका हरेक २० सांसदको अगाडि सत्ताको ५५ जना सांसद रहेपनि मतदातामा कांग्रेसका २० हुँदा सत्तापक्षको २७ मात्र रहेको हिसाव सुनाउँदै संसदमा ठाउँ नपाइने, संविधान कुल्चिने, दुई तिहाइको दम्भबाट जबरजस्ती काम हुने हो भने हामीले २० ले ५५ होइन, २७ सँग जुध्ने गरी बाहिर जानु पर्ने बाध्यता सिर्जना नहोस् उनले भने, संविधानको मर्ममा काम गरियोस् ।