काठमाडौँ, असार १३ । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता परिचयपत्र नभएको अवस्थामा अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्ने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ । यसका लागि स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश गरिएको हुनपर्छ ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारण मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा, हराएमा, नष्ट भएमा आफ्नो मतदान गर्ने अधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । मतदाता परिचयपत्र नभएको अवस्थामा मतदान गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि भेटिएमा स्थानीय तह निर्वाचन निर्देशिका बमोजिम त्यसलाई सानो भूल मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूख्य आधार मान्दै मतदान गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरिएका मतदाताको मतदान गर्न पाउने अधिकारको सुनिश्चिता प्रदान गर्ने निर्णय गरेको हो ।