प्रधानमन्त्रीकै कार्यालयअघि प्रदर्शन गर्नुपर्ने स्थिति आउन सक्छ : प्रवक्त शर्मा

काठमाडौं, असार १ । नेपाली कांग्रेसले सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिका विरुद्धमा नेपाल विद्यार्थी संघले सुर्खेतमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको आरोपमा जिल्ला पार्टी कार्यालयभित्र प्रवेश गरी धरपकड गरेको भन्दै आपत्ती जनाएको छ ।

आन्दोलन सकेर पार्टी कार्यालयमा पुगेका नेविसंघका कार्यकर्तामाथि प्रहरीले दमन गर्दै हस्तक्षेप गरी पक्राउ तथा आक्रमण गरेको भन्दै कांग्रेसले आरोप लगाएको छ । नेविसंघ सुर्खेतले बिहीबार प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो ।

सरकारले सुर्खेतमा पार्टी कार्यलयभित्र प्रवेश गरी ‘जङ्गली प्रवृति’ देखाउँदै आक्रमण गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

सो क्रममा नेविसंघका केन्द्रीय सदस्य हरि शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । केन्द्रीय सदस्य अनिलबहादुर शाही गम्भीर घाइते भएका थिए । सोही आन्दोलनको क्रममा अर्का विद्यार्थी गौतम विसीको दाहिने हात भाँचिएको छ ।

त्यस्तै आन्दोलनको क्रममा मिलन विसी, जयन बुढा पनि घाइते भएको र उनीहरुलाई घाइते अवस्थामै प्रहरीले गिरफ्तार गरेको थियो ।

सुर्खेत घटनापछि प्रहरीले पार्टी कार्यालयभित्र प्रवेश गरि धरपकड गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको यो कार्य ‘जंगली’ भएको प्रतिक्रिया दिए ।

‘सडक लोकतन्त्रको अभिन्न अंग हो । त्यहाँको प्रदर्शनपछि पार्टी कार्यालय भित्रै पसेर दमन गर्ने प्रयत्न गर्नु जंगली प्रवृति हो ।

यस्ता घटनाको प्रतिवादमा सिंहदरबार भित्रै पसेर प्रधानमन्त्रीकै कार्यालयअघि प्रदर्शन गर्नुपर्ने स्थिति आउन सक्ने प्रवक्ता शर्माको भनाइ छ ।