अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको : भट्टराई

काठमाडौँ, असार १ । जनताले अपेक्षा गरे अनुसार नै सरकारले काम गर्ने कोसिस गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले नेपाली काँग्रेसले सरकारले गरेको हरेक काममा अधिनायकवाद देखेको भन्दै आपत्ति जनाएका छन् । सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्दा कोही कसैले पनि आपत्ति गर्नु नपर्ने उनको भनाइ छ ।

नेता भट्टराईले कम्युनिष्टहरूबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको प्रस्ट पारे ।

नेकपाका स्थायी समिति सदस्य पम्फा भुसालले पार्टी एकतासँगै समाजवादउन्मुख समाज निर्माणका लागि उपयुक्त वातावरण तयार भएको भन्दै यस अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

उनले सकारात्मक सन्देश प्रवाह गर्ने र जनतामा आशावादको सञ्चार जगाउने खालको समाचार सामग्री पस्किुनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा नेकपाका केन्द्रीय सदस्यहरू महेश्वर दाहाल, ओम शर्मा, विष्णु रिजालले प्रेस सेन्टर र प्रेस चौतारीको एकता र सक्रियताका लागि शुभकामना व्यक्त गरेका थिए ।