डडेल्धुरा, असार १४ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा भएको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।
प्रधानमन्त्री देउवाले असिग्राम उच्च मावि केन्द्रमा भएको निर्वाचनमा भाग लिइ गरेका हुन् । उनीसँगै उनकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गरिन् । प्रधानमन्त्री देउवाले मतदानपछि प्रतिक्रिया दिँदै गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताए ।
स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले स्थानीय बासिन्दासँग कुरा गर्दै आफ्नो मतदाता नामावली डडेल्धुरामै भएको कारणले भोट हाल्नका लागि आएको बताए । निर्वाचनलाई उत्सवका रुपमा लिनुपर्ने बताउँदै त्यसैले मतदानमा सबैजना सहभागी हुनुपर्छ भन्ने धारणा व्यक्त गरे ।