काठमाडौँ, असार ३ । द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत गंगामायाको जीवनरक्षाका लागि गंगामाया बचाऊ अभियानले धर्ना दिएको छ ।
आज अनसनरत गंगामायाको जीवनरक्षा गर्नुपर्र्ने, अदालतको फैसलाको तत्काल कार्यान्वयन गर्नुपर्ने र सम्पूर्ण द्वन्द्वपीडितलाई न्याय दिलाउनुपर्नेे माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा उक्त अभियानले धर्ना दिएको हो ।
द्वन्द्वपीडित साझा चौतारीका संरक्षक सुमन अधिकारीले न्यायका लागि अनसनरत गंगामायाको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन धर्ना बसेको बताएका छन् ।
धर्नामा मानव अधिकारकर्मीहरु चरण प्रसाईं, कनकमणि दीक्षित, प्राध्यापक संघका अध्यक्ष रामेश्वर अधिकारीलगायत मानव अधिकारकर्मीको उपस्थिति थियो ।
गोरखा फुजेलका गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन बकुलहरमा २०६१ जेठ २४ गते गोली प्रहार गरी हत्या गरिएको थियो ।
छोराको न्यायका लागि अनशन बस्दाबस्दै नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो । उनको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।