काठमाडौं, असार ३ । प्रतिनिधिसभा नियमावलीको नियम ५६ को व्यवस्था अनुसार प्रधानमन्त्रीलाई प्रत्यक्ष कुराकानी गर्नका लागि संसदमा उपस्थित गराउन नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले माग गरेका छन् ।
संसदको शुन्य समय सकिएलगत्तै नियममा आपत्ति जनाउँदै सांसद रिजालले प्रतिनिधि सभा नियमावली पास भएको केही दिनमा यसको उल्लंघन भएको बताए ।
उनले महिनाको पहिलो र तेस्रो हप्तामा एक घन्टा प्रत्यक्ष कुराकानी गर्न प्रधानमन्त्रीको समय निर्धारण गर्नुपर्ने व्यवस्थाको शुरुवात गर्नुपर्ने माग गरेका छन् ।
जनतालाई प्रत्यक्ष प्रश्न गर्ने अधिकार भएकाले प्रधानमन्त्रीको संसदमा छलफल राख्ने सन्दर्भमा सभामुखलाई स्वविवेकी अधिकार नभएको उनले प्रस्ट पारेका छन् । गत जेठ २५ गते प्रतिनिधिसभाको नियमावली पारित भएको थियो ।
कांग्रेसले प्रश्न सोध्दा यहाँ उपस्थित भएका सत्तापक्षका सांसदहरुलाई मान्य नहोला भन्दै रिजालले भने–कुर्सी खाली भए खुट्टा तानेर नबस्नुहोस् । अहिले कांग्रेस कहिले संसदबाट हट्ला भनिएको छ । कांग्रेस कहिले हट्दैन ।
जनताले हामीलाई यही जिम्मेवारी दिएका छन् उनले भने– हाम्रो कुर्सीभन्दा पहिले सरकारको खाली हुने छाँटकाँट देखिन्छ ।
सभामुख कृष्णबहादुर महराले सांसद रिजालले उठाएको प्रश्नलाई सम्वोधन गर्दै गम्भीर ध्यानार्कण भएको बताएका छन् । सरकार समक्ष यस बारेमा ध्यानाकर्षण गराउने पनि उनको प्रतिवद्धता छ । कार्य व्यवस्थाको बैठकपछि यसलाई अघि बढाइने उनको भनाइ छ ।